4
परमेश्‍वर र येशू ख्रीष्‍टको सामने जसले जिउँदा र मरेकाहरूको न्‍याय गर्न लाग्‍नुभएको छ, र उहाँको प्रकटीकरण र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्‍छुः
2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
3 त्‍यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्‍दछन् ।
4 तिनीहरूले सत्‍यताबाट आफ्नो कान फर्काउनेछन् र दन्‍त्‍य कथातिर लगाउनेछन् ।
5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ ।
7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्‍याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु ।
8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्‍यस दिनमा धार्मिक न्‍यायाधीश प्रभुले मलाई त्‍यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
9 जतिसक्दो छिटो मकहाँ आऊ ।
10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा ।
11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् ।
12 तुखिकसलाई मैले एफिससमा पठाएको छु ।
13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।
14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्‍यसलाई त्‍यसको कामअनुसारको इनाम दिनुहुनेछ ।
15 तिमी पनि त्‍यससँग होशियार होऊ, किनकि त्‍यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो ।
16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् ।
17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
18 परमेश्‍वरले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुन्‍छ, र उहाँको स्वर्गीय राज्‍यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन
19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन सुनाइदेऊ ।
20 इरास्तस कोरिन्‍थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ ।
21 हिउँद लाग्‍नु भन्‍दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।
22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।