27
जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।
2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्‍यसैले, हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
4 त्‍यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापू नजिक जहाजमा यात्रा गर्‍यौं, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।
5 किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौं ।
6 त्‍यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्‍यसमा चढाइदिए ।
7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्‍तमा क्‍निडस नजिकै आइपुग्यौं, बतासले हामीलाई त्‍यताबाट अगाडि बढ्न दिएन । त्‍यसैले, हामीले सालमोनेको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौं ।
8 समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्‍दर बन्‍दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौं ।
9 हामीले ज्‍यादै धेरै समय लगायौं । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्‍यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठूलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”
11 तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्‍दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्‍यान दिए ।
12 किनभने जाडो समयमा त्‍यो बन्‍दरगाहमा समय बिताउन सजिलो थिएन । त्‍यसैले, जहाज चालकहरूमध्‍ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्‍यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्‍दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।
13 जब दक्षिणी बतास मन्‍द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्‍यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्‍यसकारण, तिनीहरूले लङ्‌गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
14 तर त्‍यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्‍यो सम्पूर्ण टापूभरि हामीमाथि बज्रन थाल्यो ।
15 जहाजले त्‍यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्‍यौं, र त्‍यसले जता लैजान्‍थ्यो, त्‍यतै गयौं ।
16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापूको सुरक्षित स्थान हुँदै लाग्यौं, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्‌गालाई जोगाउन सक्षम भयौं ।
17 जब तिनीहरूले यसलाई माथि उचाले, त्‍यसपछि त्‍यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौं कि भनेर तिनीहरू डराएका थिए । त्‍यसैले, तिनीहरूले लङ्‌गरहरू झारिदिए, र जहाज आफै तैरन थाल्यो ।
18 हामी आँधीद्वारा धेरै धकेलियौं । त्‍यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुनः फाले ।
20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठूलो आँधी हामीमाथि बज्रिरह्यो, तब हामीले बच्‍न सक्छौं कि भन्‍ने आशा नै त्‍यागेका थियौं ।
21 जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्‍यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
22 अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्‍छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।
23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
25 त्‍यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्‍यस्तै हुनेछ ।
26 तर हाम्रो जहाज भने कुनै टापूमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”
27 जब चौधौं रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौं, मध्‍यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौं भन्‍ने विचार गरे ।
28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।
29 हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्‍यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चार वटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
30 जहाज चालकहरूले त्‍यो जहाजलाई त्‍याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्‌गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौं भनी बहाना बनाए ।
31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”
32 त्‍यसपछि सिपाहीहरूले त्‍यो डुङ्‌गाको डोरी काटिदिए र त्‍यसलाई त्‍यही पानीमा नै बगेर जान दिए ।
33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्‍ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौं दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
34 त्‍यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौं पनि नष्‍ट हुन पाउने छैन ।”
35 त्‍यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्‍यवाद दिए । त्‍यसपछि उनले त्‍यो रोटी भाँचे अनि खान सुरु गरे ।
36 त्‍यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
37 हामी जहाजमा २७६ जना मानिस थियौं ।
38 जब उनीहरूले पर्याप्‍त खाना खाए, त्‍यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
39 जब उज्‍यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्‍यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।
40 त्‍यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्‍यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्‍यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।
41 तर तिनीहरू दुई वटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीं अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
42 कैदीहरू पौडेर नभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l
43 तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्‍यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।
44 त्‍यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्‍य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौं ।