26
यसरी अग्रीप्पाले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र आफ्नो बचाउ गरे ।
2 “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रीप्पा तपाईंको आगाडि राख्‍न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
3 खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्‍छ । त्‍यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्‍ती गर्दछु ।
4 साँच्‍चै, यी सबै यहूदीहरूले जान्‍दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
5 तिनीहरूले मलाई सुरुबाट नै जान्‍दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कट्टरपन्थी दल हो ।
6 अब म यहाँ न्‍यायको लागि उभिन्‍छु, किनकि परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको म आशा राख्दछु ।
7 यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्‍वररको सेवा गरे, र हामी पनि यसमा पुग्‍ने आशा राख्छौं । हे राजा, त्‍यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
8 मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्‍यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्‍छ ?
9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैंले पनि विचार गरें ।
10 मैले यरूशलेममा यी कामहरू गरें; मैले धेरै सन्‍तहरूलाई झ्यालखानामा थुनें, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरें ।
11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्‍दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
13 अनि बाटोमा, मध्‍यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्‍योति देखें, जुन सूर्य भन्‍दा पनि चम्किलो थियो, र त्‍यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
14 जब हामीहरू सबै जना भुइँमा लोटेका थियौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्‍छ ।”
15 तब मैले भनें, ʻतपाईं को हुनुहुन्‍छ, प्रभु ? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ ?
16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परें l
17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु,
18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्‍योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउन, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा पाऊन् र ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
19 त्‍यसकारण, राजा अग्रीप्पा, मैले त्‍यो स्वर्गीय दर्शनको अवज्ञा गरिनँ ।
20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्‍यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चाताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्चाताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरें ।
21 यसैकारण, यहूदीहरूले मलाई मन्‍दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठूला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले भनेका कुराहरू पूरा हुने बाहेक अरू कुनै बढी कुराहरूको गवाही दिएको छैन -
23 कि ख्रीष्‍टले दुःख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्‍छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्‍योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्‍य र गम्भीर वचनहरू बोल्छु ।”
26 किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्‍छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्‍ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
27 राजा अग्रीप्पा, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्‍छ ? म यो कुरा जान्‍दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्‍छ ।”
28 अग्रीप्पाले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्‍छौ ?”
29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्‍तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
30 त्‍यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्‍यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
32 अग्रीप्पाले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्‍थ्यो ।”