यूहन्‍नाले लेखेको सुसमाचार
यूहन्‍ना 1:1-18
1
आदिमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।
2 उहाँ आदिदेखि नै परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो ।
3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
4 उहाँमा जीवन थियो, अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो ।
5 ज्‍योति अन्धकारमा चम्‍किन्‍छ, अनि अन्धकारले यसलाई जितेन ।
6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।
7 उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
8 यूहन्‍ना ज्‍योति थिएनन्, तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए ।
9 उहाँ सबै मानिसहरूलाई ज्‍योति दिनुहुने र संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्‍थ्यो ।
10 उहाँ संसारमा हुनुहुन्‍थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।
11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन् ।
12 तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तानहरू हुने अधिकार दिनुभयो ।
13 यिनीहरू न रगतले, न शारीरिक इच्‍छाअनुसार, न मानिसको इच्‍छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए ।
14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्‍तो अर्थात् अनुग्रह र सत्‍यताले पूर्ण महिमा देख्यौँ ।
15 यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठूलो सोरले यसो भने, “मपछि आउनुहुने म भन्‍दा महान् हुनुहुन्‍छ, किनकि उहाँ म भन्‍दा अगिदेखि नै हुनुहुन्‍छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ ।”
16 किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ ।
17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो ।
18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।
यूहन्‍ना 1:19-34
19 यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई “तिमी को हौ ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।
20 उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”
21 त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त ? के तिमी एलिया हौ ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ ?” उनले जवाफ दिए, “होइन।”
22 तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्‍छौ ?”
23 उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्‍तो यशैया अगमवक्‍ताले भने ।”
24 ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
25 तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ ?”
26 अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,
27 उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”
28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा !
30 मपछि आउनुहुने म भन्‍दा महान् हुनुहुन्‍छ, किनकि उहाँ म भन्‍दा अगिदेखि नै हुनुहुन्‍छ भनी मैले भनेको उहाँ नै हुनुहुन्‍छ ।
31 म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”
32 यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।
33 मैले उहाँलाई चिन्‍दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्‍छ ।’
34 मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”
यूहन्‍ना 1:35-51
35 फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
36 तिनीहरूले येशू त्‍यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा !”
37 यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
38 तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्‍छ ?”
39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ बसेको ठाउँ देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
40 यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए ।
41 अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसिह (जसलाई ख्रीष्‍ट भनिन्‍छ) लाई भेट्टाएका छौँ ।”
42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
43 अर्को दिन जब येशू गालीलतिर जान त्‍यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
44 फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो ।
45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !”
47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र उनलाई उनको बारेमा भन्‍नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !”
48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “फिलिपले बोलाउनु भन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ !”
50 येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ ? तिमीले यो भन्‍दा ठूला-ठूला कुराहरू देख्‍नेछौ ।”
51 येशूले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”