रोमीहरूलाई पावलको पत्र
1
पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको सुसमाचारको कामको निम्ति अलग गरिएको हुँ,
2 जुन सुसमाचार उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो ।
3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्‍मनुभएका उहाँका पुत्रको बारेमा हो ।
4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्‍छ ।
5 उहाँको नाउँको खातिर सबै जातिहरू बिच विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौं ।
6 यी जातिहरूमध्‍ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।
7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ: हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्‍ति तिमीहरूमा रहोस् ।
8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्‍यवाद चढाउँछु, किनकि तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ ।
9 किनकि म तिमीहरूको नाउँ कतिको लिइरहन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले उहाँको सेवा गर्छु ।
10 परमेश्‍वरको इच्‍छाद्वारा आखिरमा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैं मेरो प्रार्थनामा बिन्ति गर्दछु ।
11 म तिमीहरूलाई भेट्ने इच्‍छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
12 अर्थात् तिमीहरू र मेरो, एक-अर्काका विश्‍वासद्वारा, तिमीहरूका बिचमा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्‍छा गर्छु ।
13 मैले प्रायः तिमीहरूकहाँ आउने इच्‍छा गरें भन्‍ने कुरामा तिमीहरू अनजान होऊ भन्‍ने म चाहन्‍नँ, तर म अहिलेसम्म रोकिएको छु । मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।
14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु ।
15 त्‍यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्‍यसपछि ग्रीकहरूका निम्ति ।
17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्‍तो लेखिएको छ “धर्मी चाहिं विश्‍वासद्वारा नै जिउनेछ।”
18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिकता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्‍यतालाई रोकेको छ ।
19 किनभने परमेश्‍वरको विषयमा जुन जान्न सकिने कुरा तिनीहरूलाई छर्लङ्गै देखिने भएको छ। किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा छर्लङ्गै देखिएका छन्। ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्‍त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।
21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्‍यारो बनाइए ।
22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्‌गी, चार खुट्टे जनावरहरू र घस्रने जन्‍तुहरूको प्रतिमासँग साटे ।
24 त्‍यसकारण, परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बीचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामवासनामा नै छाडिदिनुभयो ।
25 परमेश्‍वरको सत्‍यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
26 यसैले, परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छोडिदिनुभयो, किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे ।
27 त्‍यसै गरी, पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।
29 तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्‍या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् ।
30 तिनीहरू कुरौटे, निन्‍दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहंकारी छन् । तिनीहरू दुष्‍ट कुराहरू रचिहिंड्नेहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् ।
31 तिनीहरूमा समझ छैन, तिनीहरू विश्‍वासघाती, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् ।
32 यसो गर्नेहरू मृत्‍युका भागीदार हुन्‍छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्‍दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्‍छन् ।