28
हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापूको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्‍यौं ।
2 ती स्थानीय मानिसहरूले सामान्‍य खालको दया मात्र देखाएनन्, निरन्‍तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्‍यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
4 जब त्‍यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्‍यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्‍यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
5 तब उनले त्‍यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
6 तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्‍य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।
7 त्‍यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्‍यस टापूको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तीन दिनसम्म बन्‍दोबस्त गरिदिए ।
8 पब्लियसका बुबा ज्‍वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
9 यस्तो घटना भइसके पछि, त्‍यस टापूमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको भए ।
10 ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौं, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
11 तीन महिना पछि त्‍यस टापूमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौं, जुन हिउँदमा यसै टापूमा थियो, र त्‍यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
12 साइराक्युस शहरमा पुगिसकेपछि त्‍यहाँ हामी तीन दिन बस्यौं ।
13 हामी त्‍यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौं । त्‍यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्‍यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौं।
14 त्‍यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म त्‍यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं ।
15 हाम्रो बारेमा सुनेर त्‍यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न अप्‍पियसको बजार र तीन पाटीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्‍यवाद दिए र उत्साहित भए ।
16 जब हामी रोममा प्रवेश गर्‍यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।
17 तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्‍युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्‍य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्‍तो थिएन ।
20 तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्‍यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
21 तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
22 तर हामीले यस पन्‍थको बारेमा के विचार गर्नुहुन्‍छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्‍छौं, किनकि यसको विरुद्धमा बोलिन्‍छ भनेर हामीहरूले जन्‍दछौं ।
23 जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्‍यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्‍यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे ।
24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।
25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
26 उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।
27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
28 त्‍यसकारण, तिमीले जान्‍नुपर्ने हुन्‍छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्‍यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् ।
29 (टिपोटः प्रेरित २८ः२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
30 पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
31 उनले परमेश्‍वरको राज्‍यको प्रचार गरिरहेका थिए, र ठूलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।