21
जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौं, हामी सिधै कोस सहरतिर लाग्यौं । त्‍यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्‍यहाँबाट पटारा सहरतिर लाग्यौं ।
2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्‌यौं, हामी त्‍यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौं ।
3 हामी साइप्रसको टापू नजिक आइपुग्दा, हामीले त्‍यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौं, र टुरोस सहरमा उत्र्यौं, किनभने त्‍यस जहाजले ल्याएको मालसमान त्‍यहाँ झार्नु पर्थ्यो ।
4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्‍यहाँ सात दिनसम्म बस्यौं । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।
5 जब हामीले त्‍यहाँ केही दिन बितायौं, हामी त्‍यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्‍तरता दियौं । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं, र एक अर्कासँग बिदा भयौं ।
6 हामी जहाजमा चढेर निरन्‍तर रूपमा अगाडि बढ्यौं, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।
7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्‍यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र उनीहरूसँगै त्‍यहाँ एक दिन बस्यौं ।
8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्‍येका एक जना थिए । हामी उनीसँगै बस्यौं ।
9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
10 हामी त्‍यहाँ केही दिन बस्दा, त्‍यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए ।
11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्‍यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्‍छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
12 जब हामीले यस्ता कुराहरू सुन्‍यौं, हामी र त्‍यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्‍ती गर्‍यौं ।
13 त्‍यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”
14 पावलले फर्किने इच्‍छा नगरेपछि हामीले कोसिस गर्न छाड्‌यौं, र भन्‍यौं, “प्रभुको इच्‍छा पुरा होस् ।”
15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौं, र यरूशलेमतर्फ लाग्यौं ।
16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापूबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौं ।
17 जब हामी यरूशलेममा आइपुग्यौं, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्‍यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौं यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
21 तपाईंले अन्‍यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्‍याग्‍न भनी सिकाउनुहुन्‍छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्‍छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
22 हामीले के गर्नुपर्छ ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।
23 त्‍यसैले, अब हामीले जे भन्‍छौं तपाईंले त्‍यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
25 तर विश्‍वास गर्ने अन्‍यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैंलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौं, र निर्देशन दियौं ।”
26 त्‍यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैंलाई मन्‍दिरमा शुद्ध पारे ।
27 सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्‍दिरमा देखे, र सबै भीडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
28 उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रीकहरूलाई पनि मन्‍दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
29 किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्‍दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
30 सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्‍दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्‍तै थुनिए ।
31 तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।
32 तुरुन्‍तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्‍यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
33 त्‍यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुई वटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
34 भीडमा केही मानिसहरू एउटा कुरा भन्‍दै चिच्‍च्‍याए, भने अरूहरू अर्कै कुरा भन्‍दै चिच्‍च्‍याए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।
35 जब पावल सिँढीमा आए, भीडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।
36 मानिसको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्‍याइ रहे, “तिनीबाट अलग बस !”
37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ ?” कप्‍तानले सोधे, “के तिमी ग्रीक बोल्छौ ?
38 के तिमी त्‍यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्‌ककारीलाई उजाड-स्थानतिर लग्यौ ?”
39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।”
40 जब कप्‍तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्‍यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले । उनले भने,