20
खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।
2 उनी ती क्षेत्रहरू भएर जाँदा त्‍यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्‍यसपछि उनी ग्रीसतर्फ लागे ।
3 उनले त्‍यहाँ तीन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्‍यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
4 उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्‍दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
5 तर यी मानिसहरू हामी भन्‍दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
6 अखमिरी रोटीको चाडपछि हामी फिलिप्‍पीबाट जहाजमा चढेर हिँड्‌यौं र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौं । त्‍यहाँ हामी सात दिनसम्म बस्यौं ।
7 हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौं, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्‍यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्‍यरातसम्मै बोलिरहे ।
8 हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
9 युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्‍यो गहिरोमा निद्रामा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्‍यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्‍यसलाईलाई मृत अवस्थामा उठाए ।
10 तर पावल तल गएर आफै त्‍यसमाथि लम्पसार परे र त्‍यसलाई अँगालोमा हाले । त्‍यसपछि उनले भने “चिन्‍तित नहुनुहोस् किनभने ऊ जीवितै छ ।”
11 त्‍यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्‍यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्‍यसपछि त्‍यहाँबाट हिँडे ।
12 तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्‍त्वना पाए ।
13 हामी पावल भन्‍दा अगि जहाजमा चढेर अस्सोसतिर लाग्यौं, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौं । उनी आफैले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।
14 उनले हामीलाई अस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौं अनि मिटिलेने गयौं ।
15 त्‍यसपछि हामी त्‍यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापूको सामुन्‍ने आइपुग्यौं । भोलिपल्ट सामोस टापूमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं ।
16 सम्भव भएसम्म पावल पेन्‍तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्‍यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
17 मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए ।
18 तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
19 यहूदीहरूका षड्‌यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहें ।
20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्चाताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहें।
22 अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्‍य भएर यरूशलेममा जाँदैछु, त्‍यहाँ मलाई के-कस्तो हुन आउने हो त्‍यो मलाई थाहा छैन ।
23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्‍छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् ।
24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्‍दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
25 र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्‍यको प्रचार गरें, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।
26 त्‍यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्‍छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।
27 किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्‍छा घोषणा गर्नेदेखि आफैलाई रोकिनँ ।
28 त्‍यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होशियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।
30 मलाई थाहा छ कि तपाईंहरूमध्‍येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् ।
31 त्‍यसैले होशियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
32 र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्‍छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
33 मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
34 तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।
35 सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैले यी वचनहरू भन्‍नुभयो, ʻलिनु भन्‍दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”
36 उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।
37 तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।
38 तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दुःखित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।