19
अपोलोस कोरिन्‍थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्‍यहाँ कतिपय चेलाहरूलाई भेटे ।
2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त ?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौं ।”
3 पावलले भने, “त्‍यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”
4 त्‍यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्चातापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनी भन्‍दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”
5 मानिसहरूले त्‍यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।
6 त्‍यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्‍यभाषाहरूमा बोले र अगमवाणी गरे ।
7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
8 पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्‍यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए ।
9 तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भीडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासीहरूलाई लिएर त्‍यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
11 पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।
12 पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
13 तर त्‍यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफूक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”
14 त्‍यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।
15 एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्‍छु; पावललाई पनि चिन्‍छु, तर तँचाहिँ को होस् ?”
16 त्‍यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्‌यो र तिनीहरूलाई लछारपछार गरेर पिट्‌यो । तब तिनीहरू त्‍यस घरबाट नाङ्‌गै र घाइते भएर भागे ।
17 एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठूलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
18 साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।
19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्‌कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।
20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
22 पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र इरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैचाहिँ केही समय एसियामै बसे ।
23 त्‍यसैबेला एफिससमा यो मार्गको विषयमा ठूलो खैलाबैला मच्‍चियो ।
24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्‍थे ।
25 त्‍यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौं ।
26 तर तपाईंहरूले देख्दै र सुन्‍दै हुनुहुन्‍छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।
27 त्‍यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्‍दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्‍दै चिच्‍याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !”
29 यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्‌गशालाभित्र दौडे ।
30 पावल पनि त्‍यस भीडमा जान चाहन्‍थे, तर चेलाहरूले उनलाई रोके ।
31 साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्‍यस भीडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
32 केही मानिसहरू एउटा कुरा भन्‍दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भीडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्‍यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
33 यहूदीहरूले एलेक्जेन्डरलाई भीडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भीडलाई केही कुरा बुझाउन बोल्न लागे ।
34 तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्‍दै चिच्‍याए ।
35 तब नगर-सचिवले भीडलाई शान्‍त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ?
36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्‍त रहनुपर्छ र हतारमा केही गर्नु हुँदैन ।
37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्‍दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्‍दा नै गरेका छन् ।
38 त्‍यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्‍यहाँ न्‍यायाधीशहरू छन् । त्‍यहाँ तिनीहरूले उजुरी देऊन् ।
39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।
40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौं ।”
41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।