18
यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्‍थमा गए ।
2 त्‍यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्‍यजातिहरूकहाँ जानेछु ।”
7 तब उनी त्‍यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्‍थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल्दैजाऊ र चुप नलाग ।
10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
11 त्‍यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए ।
12 तर जब गलियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्‍याय आसनको सामु ल्याए ।
13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ ।”
14 तर जब पावलले बोल्नै लागेका थिए, गलियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफै मिलाऊ । यी विषयहरूमा म न्‍याय गर्न चाहन्‍नँ ।”
16 तब गालियोले तिनीहरूलाई न्‍याय आसन छोडेर जाने आदेश दिए ।
17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्‍याय आसनको अगाडि नै पिटे । तर गलियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
18 धेरै दिन त्‍यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्‍दरगाह छोड्नु भन्‍दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
19 जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीं छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
20 तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।
21 तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्‍छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्‍यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्‍यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
23 त्‍यहाँ केही समय बिताएपछि पावल त्‍यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्‍मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो ।
26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
27 जब उनले अखैया हुँदै जाने इच्‍छा गरे, भाइहरूले उनलाई त्‍यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्‍यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
28 धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।