22
“मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”
2 पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुनेपछि भीड चुप लाग्यो । उनले भने,
3 “म किलिकियाको टार्ससमा जन्‍मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरू जस्‍तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु ।
4 मैले यस मार्गलाई मृत्‍युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधे, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।
5 मलाई दमस्कसमा यात्रा गर्नलाई त्‍यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्‍छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।
6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्‍यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्‍योति मेरो वरिपरि चम्किन लाग्यो ।
7 म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ ? ʼ
8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्‍छ, प्रभु ?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ
9 मसँग भएकाहरूले त्‍यो ज्‍योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।
10 मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीं नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।
11 मैले त्‍यो ज्‍योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्‍यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।
12 मैले त्‍यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्‍यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटें।
13 उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्‍यत्तिखेरै, मैले तिनलाई देखें ।
14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्‍छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ ।
15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।
16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
17 म यरूशलेम फर्केपछि मैले मन्‍दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगें।
18 उहाँले मलाई यसो भन्‍नुभएको मैले देखें, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ
19 मैले भनें, ʻहे प्रभु, तिनीहरू आफैलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटें, र जेलमा हालें ।
20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
21 तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्‍यजातिहरूकहाँ पठाउनेछुʼ ।”
22 मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्‍यसपछि तिनीहरू चिच्‍च्‍याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, त्यो बाँच्‍नु ठिक छैन ।”
23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा,
24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्‍यसरी चिच्‍च्‍याइरहेका थिए भनी उनी आफैले थाहा पाउन सकून् ।
25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्‍यायसङ्‌गत छ र ?”
26 जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्‍छ ? किनभने यो मानिस त रोमी नागरिक पो रहेछ ।”
27 सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ ?” अनि पावलले भने, “हजुर, हुँ ।”
28 सेनापतिले जवाफ दिए, “मैले धेरै ठूलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्‍मेको हुँ ।”
29 त्‍यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्‍तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
30 भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्‍यता जान्‍न चाहे । त्‍यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्‍यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।