9
तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्‍याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए
2 र त्‍यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे ।
3 तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्‍योति चम्क्यो ।
4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ ?”
5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्‍छ ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।
6 तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”
7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।
8 शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्‍यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।
9 तिनी तीन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए ।
10 दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”
11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्‍यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।
12 र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”
13 तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।
14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”
15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू र राजाहरू र इस्राएलका सन्‍तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
17 त्‍यसैले, हननिया गए र त्‍यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
18 तुरुन्‍तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।
19 तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
20 तुरुन्‍तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?”
22 तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।
23 धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे ।
24 तर शाऊलले तिनीहरूको षड्‌यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
25 तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए ।
26 शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्‍याएर तिनीहरू सबै तिनीदेखि डराए ।
27 तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।
28 यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले ।
29 र तिनले ग्रीक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।
30 भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्‍यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्‍ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्‍त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
32 पत्रुस पूरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका मानिसहरूकहाँ पनि आइपुगे ।
33 तिनले त्‍यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षघात भएको थियो ।
34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्‍तै उठे ।
35 लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए ।
36 अब योप्‍पामा तबीता (ग्रीकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र तिनले गरिबहरूको हेरचाह गर्थिन् ।
37 ती दिनमा तिनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।
38 लुड्‌डा योप्‍पाबाट नजिकै भएकोले र पत्रुस त्‍यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।”
39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
40 पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे । मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी बसिन् ।
41 त्‍यसपछि पत्रुसले तिनलाई आफ्ना हातले उठाए । तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा तिनलाई जीवित प्रस्तुत गरे ।
42 यो खबर सारा योप्‍पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे ।
43 पत्रुस धेरै दिनसम्म योप्‍पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।