10
कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए ।
2 तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैं परमेश्‍वरलाई प्रार्थना चढाइरहन्‍थे ।
3 दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”
4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।
5 पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्‍पा शहरमा मानिसहरू पठाऊ ।
6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
7 आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्‍ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए ।
8 कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्‍पा पठाए ।
9 भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
10 तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठूलो तन्‍ना जस्‍तो थियो ।
12 त्‍यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्‍तुहरू र आकासका चराचुरुङ्‌गीहरू थिए ।
13 त्‍यसपछि एउटा आवाजले तिनलाई भन्‍यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
14 तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
15 तर त्‍यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्‍यसलाई अशुद्ध नभन ।”
16 तीन पटकसम्म यसै भयो । त्‍यसपछि त्‍यो तन्‍ना जस्‍तो वस्तु तुरुन्‍तै आकासतिर लगियो ।
17 आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्‍योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्‍यहाँ आइपुगेका थिए ।
18 पत्रुस भनिने सिमोन त्‍यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
21 त्‍यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको ?”
22 तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्‍छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्‍छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्‍देश सुन्‍न सकून् ।”
23 त्‍यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्‍पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफै पनि केवल मानिस हुँ ।”
27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्‌गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।
29 त्‍यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?”
30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
32 त्‍यसैले, कसैलाई योप्‍पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
33 त्‍यसैले, तुरुन्‍तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौं ।”
34 तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्‍दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न ।
35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्‍छ ।
36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्‍तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्‍थ्यो ।
39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं। यही येशूलाई तिनीहरूले काठमा झुण्ड्‌याएर मारे ।
40 परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौं जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।
42 परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्‍यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43 सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्‍देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
45 पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्‍यजातिहरूलाई पनि दिइएको थियो ।
46 किनभने तिनीहरूले यी अन्‍यजातिहरूले अन्‍य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
47 “हामीले जस्‍तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ ?”
48 तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।