8
तिनको हत्‍यामा शाऊल पनि सहमत थिए । त्‍यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्‍य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।
2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे ।
3 तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए । तिनी घरैपिच्‍छे जान्‍थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्‍थे ।
4 तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
5 फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे ।
6 जब भीडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्‍यान दिएर तिनका कुरा सुने ।
7 किनकि तिनीहरूमध्‍ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्‍याउँदै निस्किआए र धेरै पक्षघाती र लङ्‌गडाहरू निको भए ।
8 र त्‍यस सहरमा ज्यादै आनन्‍द भयो ।
9 तर त्‍यस सहरमा सिमोन नाउँ गरेका एक जना मानिस थिए जसले पहिले जादूगरी गर्ने गर्थे । आफूलाई एक प्रभावशाली मानिस भएको दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो ।
10 सबै भन्‍दा सानादेखि सबै भन्‍दा ठूलासम्मका सामरीहरूले त्‍यसका कुरा ध्‍यान दिएर सुन्‍थे । तिनीहरूले भन्‍थे, “यो मानिस परमेश्‍वरको त्यो शक्ति हो जसलाई महान् भनिन्‍छ ।”
11 तिनीहरूले त्‍यसका कुरा सुन्‍थे किनकि त्‍यसले आफ्नो जादूगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
12 तर जब फिलिपले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्‍यसमाथि विश्‍वास गरे अनि पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए ।
13 सिमोन आफैले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्मा लियो । त्‍यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्‍यो छक्‍क परे ।
14 सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए ।
15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
16 किनकि त्‍यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्‍ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो ।
17 त्‍यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्‍यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
19 त्‍यसले भन्‍यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।
21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।
22 त्‍यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चाताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्‍छ कि ।
23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”
24 सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
25 पत्रुस र यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
26 अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
27 तिनी उठे र गए । त्‍यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्‍दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्‍यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
28 फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।
29 पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्‍यस रथको साथ लाग ।”
30 त्‍यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ ?”
31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे ।
32 इथियोपियालीले पढेको धर्मशास्‍त्रको खण्ड थियोः “काटिने थुमा जस्‍तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्‍छ त्‍यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
33 उसको विनम्रतामा उसको न्‍याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
34 त्‍यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्‍दै छन् - आफ्नै बारेमा वा अरू कसैको बारेमा ?”
35 फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
36 तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ ?”
37-38 त्‍यसैले, ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।
39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
40 तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।