13
“त्यस दिन दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ ।2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु ।3 कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झूटो बोल्छस् !’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।4 त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।5 किनभने हरेकले भन्नेछ, ‘म अगमवक्ता होइन ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ !’6 तर कसैले त्यसलाई भन्नेछ, ‘तेरा हातहरूका बीचमा भएका यी घाउहरू के हुन् ?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाई ती चोट लागेका थिए’ ।7 “ए तरवार ! मेरो गोठालोको विरुद्धमा उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितरबितर हुनेछ ! किनभने तल्लो वर्गकाहरूका विरुद्धमा म मेरो हात उठाउनेछु ।8 र सारा भूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई तिहाइ भाग नाश हुनेछ ! ती मानिसहरू नष्ट हुनेछन्, र एक-तिहाइ मात्र बाँकी रहनेछन् ।9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिसहरू हुन् !’ र तिनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ’ !”