14
हेर ! परमप्रभुको त्‍यो दिन आउँदै छ जब तिमीहरूको लूटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।2 किनभने म यरूशलेमको विरुद्धमा युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्‍यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।3 तर परमप्रभु बाहिर निस्कनुहुनेछ र युद्धको दिनमा झैँ ती जातिहरूको विरूद्धमा लडाइँ सुरु गर्नुहुनेछ ।4 त्‍यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्‍नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्‍चिम एउटा ठूलो बेँसीद्वारा दुई भाग हुनेछ र त्‍यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।5 अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बीचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बीचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्‍यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।6 त्‍यस दिन त्‍यहाँ उज्‍यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ ।7 त्‍यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्‍यालोको समय हुनेछ ।8 त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ ।9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्‍यस दिन परमप्रभु, एक मात्र परमेश्‍वर हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।10 गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबा जस्‍तै हुनेछ । यरूशलेम निरन्‍तर माथि उठाइनेछ र बेन्‍यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्‍यो आफ्नै ठाउँसम्म रहनेछ ।11 मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।12 यरूशलेमको विरुद्धमा युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टामा उभिरहँदा पनि तिनीहरूको मासु कुहिएर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहिनेछन् ।13 त्‍यस दिन तिनीहरूका बीचमा परमप्रभुको त्‍यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्धमा उठ्नेछ ।14 यहूदा पनि यरूशलेमको विरुद्धमा लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू - सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्‍यही महामारी फैलिनेछ ।16 यरूशलेमको विरुद्धमा भएका ती जातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।17 ती सारा जातिहरूमध्‍ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।18 यदि मिश्र देशका मानिसहरू माथि गएनन् भने, त्‍यहाँ वर्षा हुनेछैन । छाप्रो-वासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ ।19 छाप्रो-वासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।20 तर त्‍यस दिन, घोडाहरूका घण्‍टीमा यस्तो लेखिएको हुनेछ, “परमप्रभुको निम्ति अलग गरिएको”, र परमप्रभुको घरानाका बाटाहरू वेदी सामुका कचौराहरूझैँ हुनेछन् ।21 किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्‍यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।