1
इस्राएलको विषयमा मलाकीद्वारा भएको परमप्रभुको वचनको घोषणा ।2 “मैले तिमीहरूलाई प्रेम गरेको छु”, परमप्रभु भन्‍नुहुन्‍छ । तर तिमीहरू भन्‍छौ, “तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको छ ?” “के एसाव याकूबको दाजु थिएन र ?” परमप्रभु घोषणा गर्नुहुन्‍छ । “तथापि मैले याकूबलाई प्रेम गरेको छु,3 तर मैले एसावलाई घृणा गरेको छु । मैले त्‍यसका पर्वतहरूलाई त्‍यागिएको बनाएको छु, र मैले त्‍यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु ।4 “हामीहरू कुल्चिएका छौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ” भनेर एदोमले भन्‍छ भने, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।5 तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरू भन्‍दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्‍छ ।’ ।6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ ?” सेनाहरूका परमप्रभु तिमी पूजाहारीहरूलाई भन्‍नुहुन्‍छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्‍छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ ?’7 मेरो वेदीमा अशुद्ध रोटी अर्पण गरेर । तर तिमीहरू भन्‍छौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ ?’ परमप्रभुको टेबिल तुच्‍छ छ भनेर ।8 जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्‍यो खराब होइन र ? जब तिमीहरू लङ्‌गडो र रोग लागेका पशु चढाउँछौ, के त्‍यो बेठीक होइन र ? त्‍यो तिमीहरूका राज्‍यपाललाई चढाएर हेर ! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान् ?”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।9 उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूका हातमा त्‍यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्‍छ ?10 “तिमीहरूमध्‍ये कोही एक जना मात्र भइदिएको भए हुने थियो जसले मन्‍दिरका ढोकाहरू बन्‍द गरिदिने थियो, ताकि तिमीहरूले मेरो वेदीमा व्यर्थैमा आगो बाल्‍न नसक ! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ ।11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्‍यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्‍यो अपवित्र बनाउँछौ ।13 तिमीहरू यसो पनि भन्‍छौ, ‘यो कति थकानयुक्त छ’, र आफ्नो नाक बङ्‌गाउँछौ”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ । “जङ्‌गली पशुले लगेका र लङ्‌गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट स्‍वीकार गरूँ ?”, परमप्रभु भन्‍नुहुन्‍छ ।14 “छल गर्ने चाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्‍यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ ! किनभने म महान् राजा हुँ”, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ, “र सारा जातिहरू बीच मेरो नाउँको आदर हुनेछ ।”