1
दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको यस्तो वचन आयो,2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो !3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः मतिर फर्क ! - परमप्रभु घोषणा गर्नुहुन्छ - र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यसो भनेका थिए, “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क !” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन् ? अनि अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन् ?6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेका छैनन् र ? यसैकारण तिनीहरूले पश्चात्ताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसार सुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ’ ।7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबीसौँ दिन, अर्थात् शेबातको महिनामा, इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको यस्तो वचन आयो,8 “मैले रातमा यस्तो देखेँ ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि राता, राता-खैरा, र सेता घोडाहरू थिए ।9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन् ?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।10 ती असारे-फूलका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।11 असारे-फूलका रूखहरूका बीचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि घुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त छ र आराम गरिरहेको छ ।12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ ?13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्च स्वरमा भन, ‘सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु !15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।16 यसकारण सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’17 उच्च स्वरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ’ ।18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चार वटा सीङ देखेँ !19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलेँ, “यी के हुन् ?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितरबितर पारे ।20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरू देखाउनुभयो ।21 मैले भनेँ, “यी मानिसहरू के गर्न आएका हुन् ?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितरबितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरू तिनीहरूलाई त्रसित गर्न, र यहूदालाई तितरबितर गर्नको निम्ति त्यसको विरुद्धमा सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”