2
अनि मैले माथितिर हेरेँ र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखेँ ।2 मैले भनेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ ?” त्यसैले तिनले मलाई भने, “यरूशलेमलाई नाप्न, त्यसको चौडाइ र लमाइ थाहा गर्न ।3 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के ।4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यसो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठूलो सङ्ख्याको कारण त्यो पर्खालबिनाको देश हुनेछ ।5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।6 जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितरबितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।7 ए बेबिलोनकी छोरीसँग बस्ने हो, जाओ, भागेर सियोनमा जाओ !’ ।8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्धमा मलाई पठाउनुभएपछि - किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्वरका आँखाको नानीलाई छुन्छ ! - परमप्रभुले यसो गर्नुभएपछि, उहाँले भन्नुभयो,9 “तिनीहरूमाथि म आफै आफ्ना हात टक्टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन् ।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफै नै आएर तिमीहरूका बीचमा वास गर्नेछु ! - परमप्रभु घोषणा गर्नुहुन्छ ।11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्नुहुन्छ, “अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ, किनकि म तिमीहरूका बीचमा वास गर्नेछु”, र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्नुहुनेछ ।13 सारा मानिसहरू हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ !