2
सातौँ महिनाको एक्काईसौँ दिनमा, अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,2 “यहूदाका राज्‍यपाल, शालतिएलका छोरा यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र बाँकी रहेका मानिसहरूलाई यसो भन् ।3 भन्, ‘तिमीहरूमध्‍ये को बाँकी छ जसले यो भवनलाई त्‍यसको पहिलेको महिमामा देखेको थियो ? अहिले तिमीहरूले यो कस्तो देख्छौ ? के तिमीहरूका नजरमा यो केही मोल नभएको जस्‍तो छैन र ?’4 अब, यरुबाबेल साहसी हो ! - परमप्रभु घोषणा गर्नुहुन्‍छ, र यहोसादाकका छोरा यहोशू साहसी हो; र भूमिका सबै मानिसहरू, साहसी होओ ! - परमप्रभु घोषणा गर्नुहुन्‍छ - र काम गर, किनकि म तिमीहरूसँग छु ! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।5 यो त्‍यही करार हो जुन मैले तिमीहरू मिश्र देशबाट बाहिर आउँदा तिमीहरूसँग स्थापित गरेको थिएँ, र मेरो आत्मा तिमीहरूसँग छ । नडराओ !6 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्‍छः केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु !7 म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमूल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।8 चाँदी र सुन मेरै हुन् ! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्‍छ ।9 यस भवनको महिमा सुरुवातको समयको भन्‍दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ, र म यस ठाउँमा शान्‍ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्‍छ ।10 दाराको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,11 “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्‍छः व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध्,12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्‍यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्‍यो पवित्र हुन्‍छ ?’ ” पूजाहारीहरूले जवाफ दिए, “हुँदैन ।13 अनि हाग्गैले भने, “मरेको मानिस छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्‍छन् ?” पूजाहारीहरूले जवाफ दिए, “हो, ती अशुद्ध हुन्‍छन् ।14 यसैकारण हाग्गैले जवाफ दिए, “यसैकारण मेरो अगि यी मानिसहरू र यो जाति, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन् ! - परमप्रभु घोषणा गर्नुहुन्‍छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन् !15 यसैकारण अब, बितेको समयदेखि आजको दिनसम्‍मैको बारेमा विचार गर । परमप्रभुको मन्‍दिरमा एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गा राख्‍न अगि त्‍यो कस्तो थियो ?16 तिमीहरू बीस मुरी अन्‍नको छेउमा आउँदा, त्‍यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दाखमद्य लिन कोलमा आउँदा, त्‍यहाँ बीसमात्र थिए ।17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्‍छ ।18 नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्‍दिरको जग बसालिएको कुरामाथि ध्‍यान देओ ।19 के भण्डारमा अझै बीउ छ ? दाखको बोट, अञ्‍जीरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन ! तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु !20 त्‍यस महिनाको चौबीसौँ दिनमा परमप्रभुको यस्तो वचन फेरि एक पटक हाग्गैकहाँ आयो,21 “यहूदाका राज्‍यपाल यरुबाबेललाई भन्, ‘म आकाश र पृथ्वी हल्लाउनेछु ।22 किनभने म जाति-जातिहरूका राज्‍यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्वारा तल खस्‍नेछन् ।23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्‍छ, त्‍यस दिन, ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु ! परमप्रभु घोषणा गर्नुहुन्‍छ !’ ”