12
इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्‍छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्‍यसभित्र रच्‍नुभयो,2 “हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्‍यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्धमा घेराबन्‍दी हुँदा यहूदाको निम्ति पनि त्‍यस्तै हुनेछ ।3 त्‍यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्‌गो तुल्याउनेछु । त्‍यो ढुङ्‌गोलाई उठाउन खोज्‍ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्‍यस सहरको विरुद्धमा एक हुनेछन् ।4 त्‍यस दिन, म हरेक घोडालाई भ्रमले र त्‍यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्‍छ । यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु ।5 अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यसो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका बासिन्‍दाहरू हाम्रो बल भएका छन् ।’6 त्‍यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बीचको आगोको मकलझैँ र बिटाहरूको बीचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।7 दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्‍दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।8 त्‍यस दिन, परमप्रभु नै यरूशलेमका बासिन्‍दाहरूको रक्षक हुनुहुनेछ, र त्‍यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि भएका परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।9 “त्‍यसदिन यरूशलेमको विरुद्धमा खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।10 तर दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्‍याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्‍यन्‍तै विलाप गर्नेछन् ।11 त्‍यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।12 भूमिले विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।13 लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।14 बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।”