2
तँलाई टुक्राटुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्‍छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्‍छ ।3 त्‍यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्‍यसका सैनिकहरू वैजनी रङ्‌गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातु चम्किन्‍छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् ।4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्‍छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।5 तँलाई टुक्राटुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्‍छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठूलो रक्षा कवच बनाइन्‍छ ।6 नदीका बाँधहरू खुला पारिन्‍छन्, र दरबारचाहिँ नाश हुनेछ ।7 हुज्‍जाबका वस्‍त्र फुकालिएका छन् र त्‍यो निर्वासनमा लगिनेछे । त्‍यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो स्‍वरमा भन्‍छन्, “रोक, रोक”, तर कसैले पनि पछि फर्केर हेर्दैन ।9 चाँदी र सुनका लूटका सामान लेओ, किनभने निनवेका सबै सुन्‍दर कुराहरूका वैभवको कुनै अन्‍त्‍य छैन ।10 निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्‍छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्‍थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्‍यो ठाउँ कहाँ छ ?12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्‍यसका शिकारहरूलाई टुक्राटुक्रा गर्‍यो । त्‍यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले , र आफ्नो ओडारलाई टुक्राटुक्रा पारिएका सिनुहरूले भर्यो ।13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्‍छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धूवाँ बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारवाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”