1
यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।2 सारा जातिका मानिसहरू हो, यो सुन । पृथ्वी र त्यसमा भएकाहरू सबैले यो सुन । परमप्रभु परमेश्वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्धमा गवाही बनून् ।3 हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।4 मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् ।5 यो सबै याकूबको अपराध र इस्राएलको घरानाका पापको कारणले भएको हो । याकूबको अपराध के हो ? के त्यो सामरिया होइन ? यहूदाको उच्च स्थान के हो ? के त्यो यरूशलेम होइन ?6 “म सामरियालाई भग्नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।7 त्यसका सबै हातले बनाइएका चीजहरू टुक्राटुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्वारा जलाइनेछ, र त्यसका सबै मूर्तिहरूलाई म नष्ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट सञ्चय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्नेछन् ।8 यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।9 किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसहरूको प्रवेशद्वार, अर्थात् यरूशलेम पुगिसकेको छ ।10 गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धूलोमा लत्पतिन्छु ।11 शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।12 किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन्, किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्वारहरूमा विनाश आएको छ ।13 लाकीशका निवासीहरू, रथलाई घोडाहरूका समूहमा बाँध । ए लाकीश, सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस्, किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए ।14 यसैकारण तिमीहरूले मोरेशेत-गातलाई बिदाइको उपहार दिनेछौ । अक्जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन् ।15 मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्लाममा आउनेछ ।16 तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।