2
धिक्कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्‍यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ्‍य छ ।2 तिनीहरू भूमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्‍यसको घर अनि त्‍यसको उत्तराधिकारमाथि शासन गर्छन् ।3 यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर, यस वंशको विरुद्धमा म सर्वनाश ल्याउँदै छु, र त्‍यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्‍यो खराब समय हुनेछ ।4 त्‍यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्‍छ । उहाँले कसरी त्‍यो मबाट हटाउन सक्‍नुहुन्‍छ ? उहाँले हाम्रो भूमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ’ !5 यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।6 “अगमवाणी नगर” भनेर तिनीहरूले भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नु हुँदैन; तिरस्कार हामीमाथि आउनु हुँदैन ।7 याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ ? के साँच्‍चै यी उहाँका कामहरू हुन् ?” के सीधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र ?8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्‌का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।9 तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिष्‌लाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।10 उठ र जाओ, किनभने त्‍यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्ने ठाउँ होइन । त्‍यो पूर्ण रूपमा सर्वनाश भएको छ ।11 यदि कोही झूट र असत्‍यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्नेछु”, भनेर भन्‍दछ भने त्‍यसका मानिसहरूको निम्ति त्‍यो अगमवक्ता हुनेछ ।12 याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बीचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठूलो सङ्ख्याको कारण त्‍यहाँ ठूलो आवाज हुनेछ ।13 तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरू भन्‍दा अगि जानेछ । तिनीहरू ढोका भत्काएर बाहिर जान्‍छन्, र तिनीहरूका राजा तिनीहरू भन्‍दा अगाडि जानेछन् । तिनीहरू सबै भन्‍दा अगाडि परमप्रभु हुनुहुनेछ ।