1
अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,2 “उठ् र त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्टता अति धेरै भएको छ ।3 तर परमप्रभुको उपस्थितिबाट भाग्न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।4 तर परमप्रभुले समुद्रमा एउटा ठूलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्ट हुन लाग्दैछ भन्ने थाहा भयो ।5 तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्यो । जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले । तर योनाचाहिँ जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्यहाँ मस्त निद्रामा सुतिरहेका थिए ।6 यसैले जहाजका कप्तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ ? उठ ! आफ्नो देवतालाई पुकार ! शायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्ट हुनेछैनौँ ।7 तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौँ, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्ने कुरा हामीले जान्नेछौँ ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्यो ।8 तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ । तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसहरूबाटका हौ ?9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्वरको भय म मान्छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।10 त्यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो ?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्यसै भनेको थिए ।11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौँ, जसले गर्दा समुद्र शान्त होस् ?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्यसपछि तिमीहरूका निम्ति यो समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठूलो आँधी चल्दैछ भनी म जान्दछु ।13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपूर्वक खियाए, तर तिनीहरूले त्यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्धमा समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्छा भयो, त्यही तपाईंले गर्नुभयो ।15 यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्यो ।16 त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्यन्तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे ।17 यति बेला योनालाई निल्नको निम्ति परमप्रभुले एउटा ठूलो माछालाई तयार पार्नुभएको थियो, र तीन दिन र तीन रातसम्म योना माछाको पेटमा नै रहे ।