1
ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हामीले परमप्रभुबाट एउटा सन्‍देश सुनेका छौँ, र जातिहरूका बीचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, “उठ ! हामी युद्धको निम्ति त्‍यसको विरुद्धमा उठौँ !2 हेर, म तिमीहरूलाई जाति-जातिका बीचमा सानो तुल्याउनेछु, तिमीहरू अति घृणित हुनेछौ ।3 ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो, आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्छ र ?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।4 तिमीहरू गरूडझैँ उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बीचमा भए पनि, तिमीहरूलाई त्‍यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ ।5 तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकूहरू आउँदा - तिमीहरूको कस्तो सर्वनाश होला ! - के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र ? दाख बटुल्नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्दैनन् र ?6 तर एसाव कसरी लुटिएको छ, त्‍यसका लुकाइएका धनसम्पत्ति खोसी लुटपाट भएको छ !7 तेरा मित्रराष्‍ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन ।8 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र ?9 ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।10 तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैँको निम्ति नाश हुनेछस् ।11 तँ एक्लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्‍यसको धन खोसेर लगेका र परदेशीहरू त्‍यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैँ थिइस् ।12 तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्‍दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।13 मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपत्को दिनमा तिनीहरूको कष्‍टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् ।14 त्‍यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्‍यसका बाँकी बचेकाहरूलाई नसुम्पी ।15 किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैँले जस्‍तो गरेको छस्, तँलाई त्‍यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्नै थाप्लोमा फर्किनेछन् ।16 किनकि जसरी तैँले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्‍यहाँ सधैँ पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैँ हुनेछन् ।17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्‍यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।18 याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिँजाहरू हुनेछ, र तिनीहरूले त्‍यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्‍यामीनले गिलादमा अधिकार गर्नेछ ।20 निर्वासनमा गएको इस्राएलका मानिसहरूको समूहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् ।21 उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्‍यो राज्‍य परमप्रभुको हुनेछ ।