9
मैले परमप्रभुलाई वेदीको छेउमा खडा हुनुभएको देखेँ र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्‍यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्राटुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैनन् ।2 तिनीहरूले खनेर पातालमा गए भने पनि, त्‍यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्‍यहाँबाट म तिनीहरूलाई तल झार्नेछु ।3 तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि, त्‍यहाँ म तिनीहरूलाई खोज्‍नेछु र निकाल्नेछु । तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके भने पनि, त्‍यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्‍यसले तिनीहरूलाई डस्‍नेछ ।4 तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्‍यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्‍यसले तिनीहरूलाई मार्नेछ । असलको निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।5 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्‍छ र त्‍यो पग्लिन्‍छ, त्‍यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्‍यसका सबै कुरा नदीझैँ माथि उठ्नेछन्, र मिश्रको नदीझैँ फेरि तल डुब्‍नेछन् ।6 उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्‍छ, र पृथ्वीमा आफ्नो जग बसाल्नुहुन्‍छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो ।7 “यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्‍तै होइनौ ? के मैले इस्राएलीहरूलाई मिश्र देशबाट, पलिश्तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र ?8 हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्‍यमाथि पर्छ, र म त्‍यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।9 हेर, म एउटा आज्ञा दिनेछु, र कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैँ, सबै जातिहरूका बीचमा म इस्राएलको घरानालाई हल्लाउनेछु, ताकि सब भन्‍दा सानो ढुङ्‌गा पनि जमिनमा खस्‍नेछैन ।10 ‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्‍येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।11 त्‍यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्‍यसका प्वालहरू टाल्नेछु । त्‍यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैँ त्‍यसको पुनर्निर्माण गर्नेछु,12 ताकि तिनीहरूले एदोमका बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।13 यो परमप्रभुको घोषणा हो, हेर, यस्ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मीठो दाखमद्य चुहाउनेछन्, र सबै पहाडहरू त्‍यससँगै बग्‍नेछन् ।14 मेरा मानिसहरू, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैँचा लगाउनेछन् र तिनका फल खानेछन् ।15 म तिनीहरूलाई आफ्नै देशमा बसाल्नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्”, परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ ।