1
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।2 ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्‍दाहरू हो ध्‍यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ ?3 यसको विषयमा आफ्ना छोराछोरीहरूलाई भन, र तिमीहरूका छोराछोरीहरूले आफ्ना छोराछोरीहरूलाई भनून्, र तिनीहरूका छोराछोरीहरूले अर्को पुस्तालाई भनून् ।4 बथानमा हिँड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठूला सलहले खाएका छन्, ठूला सलहले जे बाँकी छोडेका छन् ती फट्‌याङ्‌ग्राले खाएका छन्, र फट्‌याङ्‌ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।5 ए मद्यले मातेकाहरू हो, उठ र रोओ ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मीठो दाखमद्य तिमीहरूबाट खोसिएको छ ।6 किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्‍ती छ । त्‍यसका दाँत सिंहका दाँतझैँ छन्, र त्‍यसका दाह्रा सिंहनीका झैँ छन् ।7 त्‍यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्‌गो पारेको छ । त्‍यसका बोक्राहरू त्‍यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।8 आफ्नो भर्खरको पतिको मृत्‍यु भएर भाङ्‌ग्रा लगाएकी कन्‍या केटीले झैँ विलाप गर ।9 परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पूजाहारीहरू विलाप गर्छन् ।10 खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।11 ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, गहूँ र जौका लागि विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ ।12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनारका बोटहरू, खजूरका बोटहरू र स्याउका बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्‍तानबाट आनन्‍द विलाएर गएको छ ।13 ए पूजाहारीहरू हो, भाङ्‌ग्रा लगाओ र विलाप गर ! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‌ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आह्वान गर । परमप्रभु आफ्ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्‍दाहरूलाई भेला गराओ, अनि परमप्रभुलाई पुकार ।15 हाय ! त्‍यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्‍योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्‍द र रमाहट रोकिएको छैन र ?17 माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्काइए, किनकि अन्‍न सुकेको छ ।18 पशुहरू कसरी विलाप् गर्छन् ! पाल्तु पशुका बथानहरूले कष्‍ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्दैछन् ।19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।20 जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ ।