1
तकोका गोठालाहरूमध्ये एक जना आमोसका वचनहरू यी हुन् । भुकम्प जानु भन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले इस्राएलका बारेमा यी कुराहरू देखे ।2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्नेछन् । कर्मेलको टाकुरो ओइलाउनेछ ।3 परमप्रभु यसो भन्नुहुन्छः “दमस्कसका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।4 हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ ।5 म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्नेछु र आवनको उपत्यकामा राज्य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्”, परमप्रभु भन्नुहुन्छ ।6 परमप्रभु यसो भन्नुहुन्छ, “गाजाका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसहरूलाई कैदी बनाएर, एदोमको हातमा सुम्पन लगे ।7 गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ ।8 अश्दोदमा बस्ने मानिस, र अश्कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्धमा म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्तीहरू नाश हुनेछन्”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।9 परमप्रभु यसो भन्नुहुन्छः “टुरोसका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसहरूलाई एदोममा सुम्पेका छन्, र आफ्नो भ्रातृत्व करार तिनीहरूले तोडेका छन् ।10 टुरोसका पर्खालहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ ।11 परमप्रभु यसो भन्नुहुन्छ, “एदोमका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्यो, र सबै दयालाई त्यागिदियो । त्यसको रिस निरन्तर बढ्यो, र त्यसको क्रोध सदाको निम्ति रह्यो ।12 तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ ।13 परमप्रभु यसो भन्नुहुन्छ, “अम्मोनका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर गिलादका गर्भवती स्त्रीहरूका पेट चिरे ।14 रब्बाका पर्खालहरूमा म आगो बाल्नेछु, र त्यसले युद्धको दिनको चिच्याहटसँग, र आँधीको दिनमा हुरीबतासको आवाजसँग दरबारहरूलाई भस्म पार्नेछ ।15 तिनीहरूका राजा, त्यससँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्”, परमप्रभु भन्नुहुन्छ ।