3
हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,2 सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बीचमा छरपष्‍ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्‍यहाँ म तिनीहरुको न्‍याय गर्नेछु ।3 तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्ठा हाले, एउटी वेश्या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्सी पिए ।4 अब, टुरोस, सीदोन र पलिश्तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ ? के तिमीहरूले मलाई बदला लिन सक्छौ ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्‍तै तिमीहरूकै थाप्लोमा फर्काउनेछु ।5 किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्यौ, र मेरा बहुमूल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्‍दिरहरूमा लग्यौ ।6 यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।7 हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्‍यसको मूल्य चुकाउनेछु ।8 यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्‍नेछन्, किनकि परमप्रभुले बोल्नुभएको छ ।9 जातिहरूका बीचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्‍यहाँ भेला पार । हे परमप्रभु, आफ्ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।12 जातिहरूले आफैलाई जगाऊन् र यहोशापातको बेँसीमा उक्लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्‍यहीँ बस्‍नेछु ।13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्याम्पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।14 त्‍यहाँ होहल्ला छ, इन्साफको बेँसीमा कोलाहल छ । किनकि इन्साफको बेँसीमा परमप्रभुको दिन नजिकै छ ।15 सूर्य र चन्‍द्रमा अन्धकार हुन्‍छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।16 सियोनबाट परमप्रभु गर्जनुहुन्‍छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्‍छ । आकाश र पृथ्वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्नो पवित्र पर्वत सियोनमा वास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्‍यसबाट फेरि कहिलै कुनै सेना हिँड्नेछैन ।18 त्‍यो दिनमा यस्तो हुनेछ, पहाडहरूबाट मीठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तीमको उपत्‍यकालाई भिजाउनेछ ।19 यहूदाका मानिसहरूमाथि अत्‍याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिँ त्‍यागिएको उजाड-स्थान हुनेछ ।20 तर यहूदामा मानिसहरू सधैँ बसोबास गर्नेछन्, र यरूशलेममा चाहिँ पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।21 मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा वास गर्नुहुन्‍छ ।”