2
सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ ! देशका सबै बासिन्‍दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्‍यो नजिकै छ ।2 यो अन्धकार र उदासीको दिन हो, बादलहरू र बाक्लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठूलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्‍तौँ-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्तो फेरि कहिल्यै हुनेछैन ।3 त्‍यसको अगाडिका सबै कुरालाई आगोले भस्‍म पार्दैछ, र त्‍यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्‍यसको अगाडिको देश अदनको बगैँचा जस्‍तो छ, तर त्‍यसको पछाडि एउटा नाश भएको उजाड-स्थान छ । त्‍यसबाट कुनै कुरा फुत्कनेछैन ।4 त्‍यो सेना घोडाहरूझैँ देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैँ दौडन्‍छन् ।5 पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैँ, झिँजाहरू भस्म पार्ने भयङ्‌कर ज्वालाको आवाजझैँ, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैँ, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।6 तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्पूर्ण अनुहार पहेँलो हुन्‍छ ।7 शक्तिशाली लडाकुहरूझैँ तिनीहरू दौडन्‍छन्, सेनाहरूझैँ तिनीहरू पर्खालहरूमा चढ्छन्, तिनीहरू हरेक व्यक्ति पङ्‌क्तिवद्ध भएर हिँड्छन्, र आफ्नो पङ्‌क्तिलाई बिगार्दैनन् ।8 न त एउटाले अर्कालाई धक्का दिन्‍छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिँड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्दै अघि बढ्छन्, र आफ्नो पङ्‌क्ति भन्‍दा बाहिर पुग्दैनन् ।9 तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्‍छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैँ तिनीहरू झ्यालहरूबाट भित्र जान्‍छन् ।10 तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्‍द्रमा अँध्‍यारो हुन्‍छन्, अनि ताराहरू चम्कन छोड्छन् ।11 परमप्रभुले आफ्नो सेनाको सामु ठूलो स्‍वरले कराउनुहुन्‍छ, किनकि उहाँका योद्धाहरू असङ्ख्य छन्, किनकि उहाँका आज्ञापालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्‍यन्‍तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र ?12 परमप्रभु भन्‍नुहुन्‍छ “अहिले पनि, आफ्ना सारा हृदयले मकहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्त हुनुहुन्‍छ, र पीडादायी दण्‍ड दिनबाट फर्कनुहुन्‍छ ।14 कसले जान्‍दछ ? शायद उहाँ पर्कनुहुन्‍छ, र दया देखाउनुहुन्‍छ, र आफ्नो पछि आशिष् छोड्नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्‍छ कि ?15 सियोनमा तुरही फुक, पवित्र उपवासको आह्वान गर, र पवित्र सभा बोलाओ ।16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिकाहरू र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना श्रृङ्‌गारका कोठाहरूबाट बाहिर आऊन् ।17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बीचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्ना मानिसहरूलाई बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बीचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ ?’ ।18 आफ्नो देशको निम्ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।19 परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्‍तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बीचमा अपमानित तुल्याउनेछैनँ ।20 उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्खा र त्‍यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्‌क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्‌क्तिचाहिँ पश्‍चिमी समुद्रमा जानेछ । त्‍यसको दुर्गन्ध माथि उठ्नेछ, त्‍यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्‍चय नै उहाँले महान् काम गर्नुभएको छ ।21 ए देश, नडरा, रमाहट गर र आनन्‍दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।22 ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्थानका खर्कहरू पलाउनेछन्, र बोटहरूले आफ्ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पूरा रूपमा दिनेछन् ।23 ए सियोनका मानिसहरू हो, खुशी होओ, आफ्ना परमप्रभु परमेश्‍वरमा आनन्‍दित होओ । किनकि उहाँले ठीक समयमा चाँडै शरद्को वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैँ शरद् र बसन्‍तका दुवै झरीहरू हुनेछन् ।24 खलाहरू गहूँले भरिनेछन्, र घ्याम्पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।25 “बथानमा हिँड्ने सलहले - ठूला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले - मैले तिमीहरूका बीचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौँदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपूर्ति दिनेछु ।26 तिमीहरूले प्रशस्त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्ना परमप्रभु परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बीचमा अचम्मका काम गर्नुएको छ, र म कहिल्यै आफ्ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।27 म इस्राएलको बीचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्‍यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।28 केही समयपछि सबै मानिसहरूमाथि, म आफ्नो आत्मा खन्‍याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।29 साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म मेरो आत्मा खन्‍याउनेछु ।30 आकाश र पृथ्वीमा अचम्मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु ।31 परमप्रभुको त्‍यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्‍द्रमा रगतमा परिवर्तन हुनेछ ।32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्यक्ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्‍छ ।