2
परमप्रभु यसो भन्नुहुन्छः “मोआबका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो ।2 मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्याहट र तुरहीको आवाजमा, ठूलो गर्जनसहित मोआबचाहिँ मर्नेछ ।3 त्यसको न्यायकर्तालाई म नष्ट गर्नेछु र त्यसका सबै राजकुमारहरूलाई म मार्नेछु”, परमप्रभु भन्नुहुन्छ ।4 परमप्रभु यसो भन्नुहुन्छः “यहूदाका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झूटले तिनीहरूलाई भ्रममा पार्यो जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिँडेका थिए ।5 यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।6 परमप्रभु यसो भन्नुहुन्छः “इस्राएलका तीन वा चार वटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा, अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे ।7 मानिसहरूले भुइँमा भएको धूलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्छन् । तिनीहरूले थिचोमिचोमा परेकाहरूलाई पर धकेल्छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।8 तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्नो परमेश्वरका मन्दिरमा पिउँछन् ।9 तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरेँ, जसका उचाइ देवदारुहरूका उचाइझैँ थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरेँ ।10 साथै मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालीस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्याएँ ।11 तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरेँ । ए इस्राएलका मानिस हो, के यो सत्य होइन ? - यो परमप्रभुको घोषणा हो ।12 तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्ने आज्ञा दियौ ।13 हेर, अन्न भरिएको गाडाले कसैलाई कुल्चेझैँ, म तिमीहरूलाई कुल्चनेछु ।14 तेज दौडने उम्केर जान सक्नेछैन, र बलियोले आफ्नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैँलाई बचाउन सक्नेछ ।15 धनुर्धारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचढीले आफैँलाई बचाउन सक्नेछैन ।16 त्यस दिनमा सबै भन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्नेछन् - यो परमप्रभुको घोषणा हो ।”