3
ए इस्राएलका मानिसहरू हो, तिमीहरूका विरूद्धमा, मिश्र देशबाट मैले निकालेर ल्याएको सम्पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः2 “पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्‍यसकारण तिमीहरूका सबै पापहरूका निम्ति, म तिमीहरूलाई दण्ड दिनेछु ।3 सहमत नभएसम्म दुई जना सँगै हिँड्छन् र ?4 जङ्‌गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्‍यो गर्जन्‍छ र ? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्‍यसले ङ्यारङ्यार् गर्छ र ?5 चराको निम्ति चारो नराखेसम्म के त्‍यो भुइँमा भएको पासोमा पर्छ र ? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्‍यो भुइँबाट माथि उफ्रिन्‍छ र ?6 सहरमा तुरही बज्‍यो भने, के त्‍यहाँका मानिसहरू थरथर काम्दैनन् र ? सहरलाई प्रकोपले नाश गर्दा, त्‍यो परमप्रभुले नै पठाउनुभएको होइन र ?7 निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।8 सिंह गर्जेको छ । को डराउनेछैन र ? परमप्रभु परमेश्‍वर बोल्नुभएको छ । कसले अगमवाणी बोल्दैन र ?9 अश्दोदमा भएका किल्लाहरूमा, र मिश्र देशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्‍यहाँ के ठूलो भ्रम छ र के अत्‍याचार छ त्‍यो हेर ।10 किनभने ठीक काम कसरी गर्ने सो तिनीहरू जान्‍दैनन् - यो परमप्रभुको घोषणा हो - तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश सञ्‍चित गर्छन् ।11 यसैकारण, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।12 परमप्रभु यसो भन्‍नुहुन्‍छः “जसरी गोठालाले सिंहको मुखबाट दुई वटा खुट्टा, वा कानको एक टुक्रा मात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्‌गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।13 याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ - यो सर्वशक्तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।14 “किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्ड दिनेछु । वेदीका सीङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।15 म हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठूला-ठूला घरहरू लोप हुनेछन् - यो परमप्रभुको घोषणा हो ।”