4
ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्चिन्छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।2 परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको छ, “हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले, र तिमीहरूमध्ये अन्तिम बचेकाहरूलाई बल्छीले लैजानेछन् ।3 तिमीहरू सहरका पर्खालका धाँदाहरूका बीचबाट जानेछौ, तिमीहरू हरेक व्यक्ति सीधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ - यो परमप्रभुको घोषणा हो ।4 बेथेलमा जाओ र पाप गर, गिलगालमा जाओ अनि धेरै पाप बढाओ, हरेक बिहान आफ्ना बलिदानहरू, हरेक तीन दिनमा आफ्ना दशांशहरू ल्याओ ।5 रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्छा भेटीको घोषणा गर । तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्याउँछ - यो परमप्रभु परमेश्वरको घोषणा हो ।6 मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूलाई भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारेँ । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ - यो परमप्रभुको घोषणा हो ।7 फसल काट्नलाई तीन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकेँ । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्यो ।8 दुई वा तीन वटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिँडे, तर तृप्त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ - यो परमप्रभुको घोषणा हो ।9 डढुवा र ढुसीले मैले तिमीहरूलाई कष्ट दिएँ । तिमीहरूका असङ्ख्य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ - यो परमप्रभुको घोषणा हो ।10 मैले मिश्रमा झैँ तिमीहरूका बीचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारेँ, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारेँ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ - यो परमप्रभुको घोषणा हो ।11 मैले तिमीहरूका बीचमा भएका सहरहरू नाश पारेँ, जसरी परमेश्वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्टाहरूझैँ थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ - यो परमप्रभुको घोषणा हो ।12 त्यसैले, ए इस्राएल, म तेरो बीचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बीचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्वरलाई भेट्न तयार हो !13 किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”