5
ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।2 कुमारी इस्राएल पतन भएकी छ, त्‍यो फेरि उठ्नेछैन, त्‍यो आफ्नै भूमिमा त्‍यागिएकी छ, त्‍यसलाई उठाउने त्‍यहाँ कोही छैन ।3 किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “इस्राएलको घरानाका लागि, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दश जना बाँकी हुनेछन् ।4 किनभने इस्राएलको घरानालाई परमप्रभु यसो भन्‍नुहुन्‍छः “मेरो खोजी गर र जीवित रहो !5 बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ ।6 परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैँ दन्कनुहुनेछ । त्‍यसले भस्म पार्नेछ र बेथेलमा त्‍यसलाई निभाउने कुनै व्यक्ति हुनेछैन ।7 ती मानिसहरूले इन्साफलाई एउटा तीतो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन् !8 परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्‍छ । उहाँले दिनलाई रातको अन्धकार बनाउनुहुन्‍छ र समुद्रको पानीलाई बोलाउनुहुन्‍छ । उहाँले त्‍यसलाई पृथ्वीको सतहमा खन्‍याउनुहुन्‍छ । उहाँको नाउँ परमप्रभु हो ।9 उहाँले बलियामाथि एक्कासि विनाश ल्यानुहुन्‍छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।10 सहरको मूलद्वारमा तिनीहरूलाई ठीक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्‍य बोल्नेलाई कुनै पनि व्यक्तिको तिनीहरू उपहास गर्छन् ।11 किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र उसबाट गहूँको भाग लिन्‍छौ - तिमीहरूले कुँदेका ढुङ्‌गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्‍यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्‍यसको दाखमद्य पाउनेछैनौ ।12 किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठूला छन् भनी म जान्‍दछु - तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्‍छौ, घूस लिन्‍छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ13 यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।14 असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ । यसरी तिमीहरूले भनेझैँ, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ ।15 दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्‍याय कायम गर । शायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।16 यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यसो भन्‍नेछन्, ‘धिक्कार ! धिक्कार !’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।17 सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु”, परमप्रभु भन्‍नुहुन्‍छ ।18 परमप्रभुको दिनको चाहना गर्नेहरूलाई धिक्कार ! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ ? त्‍यो उज्‍यालो होइन तर अन्धकार हुनेछ,19 जसरी कोही मानिस एउटा सिंहबाट भाग्छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात् ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्छ अनि एउटा सर्पले उसलाई डस्छ ।20 के परमप्रभुको दिन उज्‍यालो नभई अन्धकार हुनेछैन र ? अन्धकार र कुनै उज्‍यालो नभएको ?21 “म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ ।22 तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।23 तिमीहरूका गीतहरूको हल्ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ ।24 बरु, इन्साफ पानीझैँ बगोस्, र धार्मिकताचाहिँ निरन्‍तर बगिरहने खोलाझैँ होस् ।25 ए इस्राएलको घराना, चालीस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र ?26 तिमीहरूले आफ्ना राजा सिक्कुथ, र आफ्ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्ति बनायौ ।27 यसकारण म तिमीहरूलाई दमस्‍कस भन्‍दा पर निर्वासनमा पठाउनेछु”, परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।