6
सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।2 तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हमातमा जाओ, अनि त्यसपछि पलिश्तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यहरू भन्दा ती असल छन् र ? के तिनका सिमाना तिमीहरूको सिमाना भन्दा ठूलो छ ?3 विनाशको दिनलाई पन्छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्कार ।4 तिनीहरू हस्तिहाडको ओछ्यानमा सुत्छन् र आ-आफ्ना पलङहरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैँ तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।7 यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोजमज्जा गर्नेहरूको भोजको अन्त हुनेछ ।8 “म, परमप्रभुले आफैँसित यो प्रतिज्ञा गरेको छु - यो परमप्रभु सर्वशक्तिमान् परमेश्वरको घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्यसलाई सुम्पिदिनेछु ।9 यस्तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् ।10 जब कुनै मानिसको आफन्त वा उसलाई जलाउने तिनीहरूका लाशहरू निकाल्न आउँछ - उसले त्यस घरमा भएको मानिसलाई सोध्छ, “के तिमीसँग अरू कोही बाँकी छ ?” तब त्यो मानिसले भन्छ, “छैन ।” त्यसपछि उसले भन्नेछ, “चूप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।11 किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठूलो घर टुक्राटुक्रा हुनेछ, र सानो घरचाहिँ धूलोपीठो हुनेछ ।12 के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्छन् र ? के कसैले त्यहाँ गोरू जोत्छ ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्ततामा परिणत गरेका छौ ।13 लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौँ र ?14 “तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु - परमप्रभु सर्वशक्तमान् परमेश्वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”