14
ए इस्राएल, परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, "हाम्रा सबै अपराधहरू क्षमा गर्नुहोस् र जे असल छ त्‍यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौँ ।3 अश्शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौँ । न त आफ्ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौँ, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ’, किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।"4 "तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैमा प्रेम गर्नेछु, किनकि त्‍यसप्रतिको मेरो रीस मरेको छ ।5 इस्राएलको निम्ति म शीतझैँ हुनेछु । लिली फूलझैँ त्‍यो फुल्नेछ र लेबनानको देवदारुझैँ त्‍यसले जरा गाड्नेछ ।6 त्‍यसका हाँगाहरू फैलिनेछन् । त्‍यसको सुन्‍दरता जैतूनको रूखझैँ हुनेछ, र त्‍यसको सुगन्ध लेबनानको देवदारुझैँ हुनेछ ।7 त्‍यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैँ बढ्नेछन् र दाखको बोटझैँ फुल्नेछन् । त्‍यसको ख्याति लेबनानको दाखमद्यझैँ हुनेछ ।8 ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ ? म त्‍यसलाई जवाफ दिनेछु र त्‍यसको वास्ता गर्नेछु । म सल्लोको रूखझैँ हुँ, जसका पातहरू सधैँ हरिया हुन्‍छन्, र मबाट नै तेरो फल आउँछ ।"9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्छ ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्‍न सक्छ ? किनकि परमप्रभुका मार्गहरू ठीक हुन्‍छन्, र धर्मीचाहिँ तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिँ तिनमा ठेस खानेछन् ।