2
तब योनाले त्‍यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्‍वरसँग प्रार्थना गरे ।2 तिनले भने, “मेरो सङ्‌कष्‍टको बारेमा मैले परमप्रभुलाई पुकारेँ र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारेँ ! तपाईंले मेरो स्‍वर सुन्‍नुभयो ।3 तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्करणमा नै फाल्नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।4 मैले भनेँ, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्‍दिरतिर आफ्ना आँखा लगाउनेछु ।’5 पानी मेरा घाँटीसम्म नै आयो; मेरो चारैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।6 पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो ।7 जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरेँ, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्‍दिरमा आयो ।8 तिनीहरूले प्रेमपूर्ण विश्‍वस्ततालाई प्रेम गर्न छोड्दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्‍यान लगाए ।9 तर मेरो बारेमा, उच्‍च स्‍वरले म तपाईंलाई धन्‍यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पूरा गर्नेछु । मुक्ति परमप्रभुबाट नै आउँछ !10 त्‍यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्‍यसले योनालाई सुक्‍खा जमिनमा उकेलिदियो ।