1
निनवेको विषयमा भएको घोषणा । एल्कोशी नहूमको दर्शनको पुस्तक ।2 परमप्रभु डाही परमेश्वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रीस रहिरहन्छ ।3 परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्टलाई दण्डबाट उम्कन दिनुहुन्न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धूला हुन् ।4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिसहरू नष्ट हुन्छन् ।6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँद्धारा चट्टानहरू टुक्राटुक्रा पारिन्छन् ।7 परमप्रभु असल हुनुहुन्छ, र कष्टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्वसनीय हुनुहुन्छ ।8 तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।9 तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।10 किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।11 निनवे, तिमीहरूका बीचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्टतालाई बढुवा दियो ।12 परमप्रभु यस्तो भन्नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ ।13 अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।14 निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मूर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।15 हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पूरा गर, किनकि दुष्टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।