7
हाय म ! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेको जस्तो पहिले नै पाकेको अञ्जीर पनि छैन ।2 भूमिबाट विश्वसनीय मानिसहरू विलीन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।3 तिनीहरूका हातहरू हानि गर्नलाई पोख्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।4 तिनीहरूमध्येको उत्कृष्टचाहिँ काँडाझैँ छ, सबै भन्दा सोझोचाहिँ काँडाको झाँग भन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो ।5 कुनै पनि छिमेकीमाथि विश्वास नगर्नू । कुनै साथीमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा सुत्ने स्त्रीसँग पनि होशियारसँग बोल्नू ।6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।7 तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु । म मेरो मुक्तिको परमेश्वरको पर्खाइमा छु, मेरा परमेश्वरले मलाई सुन्नुहुन्छ ।8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।9 मैले परमप्रभुको विरुद्धमा पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म म उहाँको क्रोध सहनेछु ।10 अनि मेरो शत्रुले त्यो देख्नेछ, र “परमप्रभु तेरो परमेश्वर कहाँ छ ?” भनेर भन्नेलाई शर्मले ढाक्नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ । त्यस दिनमा सिमानाहरू टाढा-टाढासम्म विस्तार हुनेछन् ।12 त्यस दिन अश्शूर र मिश्रका शहरहरूबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।13 तर भूमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बीचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।15 मिश्रको भूमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्चर्य कामहरू देखाउनेछु ।16 जाति-जातिहरूले यो देख्नेछन् र आफ्ना शक्तिमाथि लज्जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।17 तिनीहरूले सर्पले झैँ धूलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।18 तपाईंझैँ परमेश्वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ ? उहाँ सदाको निम्ति रिसाउनुहुन्न, किनभने उहाँ आफ्नो करारको विश्वसनीयतामा खुशी हुनुहुन्छ ।19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाउमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूलाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्वसनीयता दिनुहुनेछ ।