6
अब परमप्रभु के भन्‍नुहुन्‍छ त्‍यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् ।2 ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्धमा परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्धमा न्‍यायलयमा लड्नुहुनेछ ।3 “मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु ? मैले तिमीहरूलाई कसरी थकित पारेको छु ? मेरो विरुद्धमा साक्षी देओ !4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।5 मेरा मानिसहरू हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्‍यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।6 उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ ?7 के परमप्रभु हजारौँ भेडाहरुद्वारा, वा तेलका दश हजार नदीहरूद्वारा प्रसन्‍न हुनुहुन्‍छ ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ ?8 ए मानिस, उहाँले तँलाई जे असल छ त्‍यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्‍यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।9 परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछः “छडीलाई र त्‍यसलाई ठाउँमा राख्‍नेलाई ध्‍यान देओ ।10 बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्‍यहाँ झूटा कुराहरू छन्, जुन घृणास्पद छन् ।11 यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्‍यसलाई निर्दोष मान्‍ने ?12 धनी मानिसहरू हिंसाले भरिएका छन्, त्‍यसका निवासीहरू झूट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।13 यसैकारण म तिमीहरूलाई भयङ्‌कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।14 तिमीहरू खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको रित्तोपना तिमीहरूभित्रै रहनेछ । तिमीहरूले वस्तुहरू सञ्‍चय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्‍यो म तरवारलाई दिनेछु ।15 तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्‍यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्‍यहाँका बासिन्‍दाहरूलाई खिसीको पात्र बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्‍दा सहनेछौ ।”