5
अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्‌क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्‍यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बीचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछन्, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।3 यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्‍माएसम्म, र त्‍यसका बाँकी रहेकाहरू इस्राएलका मानिसहरूकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नुहुनेछ ।4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्‍छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महान्‌ता रहिरहनेछ ।5 किनभने हाम्रो शान्‍तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्छन्, त्‍यसबेला हामी तिनीहरूका विरुद्धमा सात गोठालाहरू र मानिसहरूमाथि आठ अगुवाहरू खडा गर्नेछौँ ।6 तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्वारमा तरवारद्वारा नियन्‍त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।7 याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्‍तानलाई पर्खंदैनन् ।8 याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्‌गलका पशुहरूका बीचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्‍यो तिनीहरूका बीचबाट जान्‍छ, त्‍यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्राटुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्‍यहाँ कोही हुनेछैन ।9 तेरो हात तेरा शत्रुहरूका विरुद्धमा उठ्नेछन् र त्‍यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।10 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन यस्तो हुनेछ । म तिमीहरूका बीचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्काइदिनेछु ।11 तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।12 म तिमीहरूका बीचमा भएको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बीचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।13 म तिमीहरूले हातले बनाएका मूर्तिहरू र तिमीहरूका ढुङ्‌गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्‍नेछैनौ ।14 म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।15 मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रीस र क्रोधमा प्रतिशोध ल्याउनेछु ।”