4
तर यो कुराले योनालाई अप्रसन्‍न बनायो र तिनी धेरै रिसाए ।2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र ? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्‍न गरेँ, किनभने मलाई थाहा थियो कि तपाईं अनुग्रही परमेश्‍वर हुनुहुन्‍छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्‍वसनीय हुनुहुन्‍छ, र तपाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ ।3 यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्‍ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनु भन्‍दा मर्नु नै असल छ ।4 परमप्रभुले भन्‍नुभयो, “के तँ यति धेरै रिसाउनु ठीक हुन्‍छ र ?5 तब योना त्‍यस सहरबाट बाहिर गए र सहरको पूर्वपट्टि बसे । त्‍यहाँ उनले एउटा छाप्रो बनाए र त्‍यसको छायामा बसे ताकि त्‍यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सकून् ।6 परमप्रभु परमेश्‍वरले एउटा बिरुवा उमार्नुभयो र त्‍यसलाई योनाको माथि बढाउनुभयो, ताकि तिनको कष्‍ट कम गर्न त्‍यसले तिनको शिरमा छाया प्रदान गरोस् । त्‍यो बिरुवाको कारणले योना असाध्‍यै खुशी भए ।7 तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरालाई खटाउनुभयो । त्‍यो बिरुवालाई त्‍यसले काटिदियो, र त्‍यो बिरुवा सुक्यो ।8 अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पूर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्‍यो र उनी मूर्च्‍छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्‍थ्यो भनी इच्‍छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनु भन्‍दा मर्नु नै बेस हुन्‍छ ।9 तब परमप्रभुले योनालाई भन्‍नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठीक हुन्‍छ र?” तब योनाले भने, “म मरुञ्‍जेलसम्म पनि रिसाउन ठीक हुन्‍छ ।10 परमप्रभुले भन्‍नुभयो, “तैँले मेहनत नै नगरेको, र तैँले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो । त्‍यो एक रातमै बढ्‌यो र एक रातमै मर्‍यो ।11 यसैले मेरो बारेमा, के मैले त्‍यो ठूलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बीस हजार भन्‍दा धेरै मानिसहरू बस्छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बीचको भिन्‍नता थाहा छैन, र धेरै गाईवस्तुहरू छन्?”