3
रगतले भरिएको सहरलाई धिक्कार ! त्‍यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्‍यसका शिकारहरू सधैँ त्‍यहीँभित्र छन् ।2 तर अब त्‍यहाँबाट कोर्राहरूको, तेज पाङ्‌ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।3 आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लाश र मुर्दाहरूको थुप्रो त्‍यहाँ छन् । त्‍यहाँ अनगिन्‍ती लाशहरू छन् । त्‍यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।4 टुनामुनामा निपुण, त्‍यो सुन्‍दर वेश्या, त्‍यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ, जसले आफ्नो वेश्‍यावृत्तिद्वारा जातिहरूलाई बेच्‍छे, र मानिसहरूलाई आफ्‍नो टुनामुनाले बेच्‍छे ।5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरो फरियालाई तेरो अनुहार भन्‍दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्‍यहरूलाई देखाइदिनेछु ।6 म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् ।7 तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्‍यसको निम्ति कसले विलौना गर्ला ?’ तँलाई सान्‍त्वना दिने मैले कहाँ पाउन सक्छु ?8 निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो सहर भन्‍दा असल छस्, त्‍यो सहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो ?9 कूश र मिश्र त्‍यसका शक्ति थिए, र त्‍यसको कुनै अन्‍त थिएन । पूत र लिबिया त्‍यसका मित्रराष्‍ट्रहरू थिए ।10 तथापि नो सहर निर्वासनमा लगियो, त्‍यो दासत्वमा लगियो, त्‍यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्राटुक्रा पारिए । त्‍यसका शत्रुहरूले त्‍यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्‍यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।11 तँ मतवाला हुनेछस्, तँ लुक्‍न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्‍नेछस् ।12 तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्‍यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।13 हेर्, तेरा बीचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरू शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्‍यसका गजबारहरू भस्म पारेको छ ।14 घेराबन्‍दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्‍यसलाई कुल्ची । ईँट बनाउने भाँडो बोक् ।15 आगोले तँलाई त्‍यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्‍यसले तँलाई सखाप पार्नेछ । फटेङ्‌ग्राहरू जस्ता अनगिन्‍ती हो, र सलाहहरूझैँ सङ्ख्यामा बढ् ।16 तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरू भन्‍दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भूमिलाई लुटेर उडिजान्‍छन् ।17 तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्‍छन् भन्‍ने नै थाहा हुँदैन ।18 अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्‍यहाँ भेला गर्ने कोही छैन ।19 तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो दुष्‍टताले कसलाई निरन्‍तर थिचेको छैन र ? तेरो लगातारको दुष्‍टताबाट को भागेको छैन र ?