4
सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् ।2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन् । ‍3 स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्‍छन्, तर मेरो जातिकी छोरी मरुभूमिका शुतुरमुर्गहरूझैँ क्रूर भएकी छे ।4 दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्‍छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।5 मीठा-मीठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।6 मेरो जातिकी छोरीको दण्ड सदोमको भन्‍दा ठूलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्‍यसलाई सहायता गरेको थिएन ।7 त्‍यसका अगुवाहरू हिउँ भन्‍दा शुद्ध, दूध भन्‍दा सेता थिए । तिनीहरूका शरीर मानिक भन्‍दा राता थिए; तिनीहरूका रूप नीर जस्‍तै थिए ।8 अहिले तिनीहरू मुहार मोसो भन्‍दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्‌डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।9 तरवारले मारिएकाहरू भोकले मरेकाहरू भन्‍दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्‍छन् ।10 दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चाहरू पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चाहरू तिनीहरूको खानेकुरा बने ।11 परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्‌कर रीस खन्‍याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्‍यसका जगहरूलाई भस्म पार्‍यो ।12 शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्‍ने थिए भनी पृथ्वीका राजाहरूले विश्‍वास गरेनन्, न त संसारको कुनै बासिन्‍दाले विश्‍वास गर्‍यो ।13 त्‍यसका अगमवक्ताहरू र त्‍यसका पूजाहारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्‍यसकै बीचमा धर्मीहरूको रगत बगाएका थिए ।14 अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्‍यस रगतद्वारा तिनीहरू यति दूषित पारिएका थिए कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।15 तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्‍याउँछन्, “भाग, हे अशुद्धहरू हो ! भाग ! भाग ! नछोओ !” त्‍यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बीचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।16 परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न । तिनीहरूले पूजाहारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।17 सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ, जसले हामीलाई बचाउन सकेन ।18 तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्‍त्‍य नजिकै थियो, र हाम्रा दिन गन्‍ती गरिए । हाम्रो अन्‍त्‍य आइसकेको थियो ।19 हामीलाई खेद्‌नेहरू आकाशका चीलहरू भन्‍दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्‍मै खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणाधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बीचमा बस्‍नेछौँ ।21 हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्‍यो कचौरा पनि दिइनेछ । तँ मात्‍नेछेस्, र नाङ्‌गो पारिनेछेस् ।22 हे सियोनकी छोरी, तेरो दण्ड समाप्‍त हुनेछ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुनेछैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुनेछ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुनेछ ।