1
बेन्‍यामीनको क्षेत्रमा पर्ने अनातोतका पूजाहारीहरूमध्‍ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यी नै हुन् ।2 यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्म नै परमप्रभुको वचन आइरह्यो ।4 परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,5 "मैले तँलाई गर्भमा रच्‍नु भन्‍दा पहिले, मैले तँलाई चुनेँ । तँ गर्भबाट बाहिर आउनुअघि मैले तँलाई अलग गरेँ । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।6 मैले भनेँ, "हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।7 तर परमप्रभुले मलाई भन्‍नुभयो, "यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैँले भन्‍नैपर्छ ।8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, "अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्‌ग पार्न, बनाउन र रोप्‍न, आज मैले तँलाई जातिहरू र राज्‍यहरूमाथि नियुक्त गर्दैछु ।"11 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, "ए यर्मिया, तँ के देख्छस् ?" मैले भनेँ, "हाडे-बदामको एउटा हाँगा म देख्छु ।"12 परमप्रभुले मलाई भन्‍नुभयो, "तैँले राम्ररी देखेको छस्, किनकि आफ्नो वचन पूरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।"13 परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, "तैँले के देख्छस् ?" मैले भनेँ, "म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्किएर उत्तर दिशाबाट घोप्‍टिरहेको छ ।"14 परमप्रभुले मलाई भन्‍नुभयो, "यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।15 किनकि मैले उत्तरी राज्‍यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।16 अरू देवताहरूलाई धूप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पूजा गरेर मलाई त्‍यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।17 आफूलाई तयार पार ! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्‍यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्‍दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।19 तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु", यो परमप्रभुको घोषणा हो ।