2
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,2 "जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनीयता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्‍यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।'3 इस्राएल परमप्रभुको निम्‍ति पवित्र छ, फसलको अगौटे फल ! अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए ! तिनीहरूमाथि विपत्ति आइपर्नेछ, यो परमप्रभुको घोषणा हो ।4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।5 परमप्रभु यसो भन्‍नुहुन्‍छः तिमीहरूका पुर्खाहरूले ममा के गल्ती भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए ? कि तिनीहरू बेकम्मा मूर्तिहरूको पछि गए र आफै बेकम्मा भए ?6 तिनीहरूले यसो भनेनन्, "हामीलाई मिश्र देशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्‍छ ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुक्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्‍छ ?"7 तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्‍य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ ! तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दूषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ !8 पूजाहारीले सोधेन, "परमप्रभु कहाँ हुनुहुन्‍छ ?" र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।9 त्‍यसैले परमप्रभु घोषणा गर्नुहुन्‍छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।10 किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्‍देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्‍यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।11 के कुनै जातिले आफ्ना देवताहरू साटेका छन् ? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्नो महिमालाई साटेका छन् ।12 यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।13 किनकि मेरो मानिसहरूले मेरो विरुद्धमा दुई वटा दुष्‍ट काम गरेको छन्ः तिनीहरूले जिउँदो पानीको मूललाई त्‍यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।14 के इस्राएल दास हो ? के त्‍यो आफ्नो मालिकको घरमा जन्‍मेको थियो ? त्‍यसो भए, त्‍यो किन लूटको माल भएको छ त ?15 जवान सिंहहरू त्‍यसको विरुद्धमा गर्जे । तिनीहरूले ठूलो स्वरले गर्जेका छन्, र त्‍यसको देशलाई त्रसित पारेका छन् । त्‍यसका सहरहरू बासिन्‍दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तिमीहरूको शिर खौरिनेछन् र तिमीहरूलाई दासहरू बनाउनेछन् !17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्‍यागेर के यो तिमीहरू आफैले आफूलाई गरेका होइनौ र ?18 त्‍यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्र देशमा पुर्‍याउने बाटो भएर जान्‍छौ ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्‍छौ ?19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्‍छ । त्‍यसैले यस बारेमा विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्‍यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तीतो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।20 किनकि तँसित प्राचीन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैँले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ !' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि तैँले आफ्नो शिर झुकाइस्, तँ वेश्या होस् ।21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैँले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस् ?22 तैँले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैँ छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।23 'म बिटुलो पारिएको छैनँ ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैँले कसरी भन्‍न सक्छस् ? तैँले उपत्‍यकाहरूमा के गरिस्, सो हेर् । तैँले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिँड्ने चञ्‍चल पोथी ऊँट हो,24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्दै हिँड्ने वन-गधैनी हो । त्‍यसको कामवासनालाई कसले नियन्‍त्रण गर्न सक्छ ? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्‍यसलाई फेला पार्नेछन् ।25 तेरो खुट्टालाई नाङ्‌गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैँले नियन्‍त्रण गर्नुपर्छ । तर तैँले भनेको छस्, 'यो आशारहित छ ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'26 चोर समातिँदा त्‍यो लज्‍जित भएझैँ, इस्राएलको घराना लज्‍जित हुनेछ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पूजाहारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।27 यी ती नै हुन् जसले रूखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्‌गालाई 'तिमीले मलाई जन्‍म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्ना अनुहार होइन । तापनि सङ्‌कष्‍टको समयमा तिनीहरू भन्‍छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस् !'28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन् ? तिमीहरूको सङ्‌कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्‍छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्‍यति नै तेरा मूर्तिहरू छन् ।29 त्‍यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस् ? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैँ निलेको छ ।31 हे यस पुस्ताकाहरू हो, मेरा वचन, परमप्रभुको वचनमा ध्‍यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र ? किन मेरो जातिले यसो भन्‍छ, "हामीलाई वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौँ ?"32 के कन्‍याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र ? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।33 प्रेमको खोजी गर्न कसरी तैँले आफ्नो मार्ग बनाउँछेस् ? तैँले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् ।34 तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चोरी गरिरहँदा भेट्टाइएका होइनन् ।35 तरै पनि तँ भन्‍छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर जानेछ ।' तर हेर ! 'मैले पाप गरेको छैनँ' भनी तैँले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्‍छेस् ? जसरी अश्शूरले तँलाई निरुत्साहित पार्‍यो, त्‍यसै गरी मिश्र देशले पनि तँलाई निरुत्साहित पार्नेछ ।37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्‍यहाँबाट दुःखी भएर जानुपर्ने हुन्‍छ, किनकि तैँले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्‍यसैले तिनीहरूबाट तैँले मदत पाउनेछैनस् ।