1
एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्‍यो शक्तिशाली जाति भए तापनि विधवा जस्‍तै भएको छ । त्‍यो जाति-जातिहरूका बीचमा राजकुमारी जस्‍तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।2 त्‍यो रातमा रुन्‍छ र विलाप गर्छ, अनि त्‍यसको आँसुले गला भरिन्‍छ । त्‍यसको कुनै पनि प्रेमीले त्‍यसलाई सान्‍त्वना दिँदैन । त्‍यसका सबै मित्रले त्‍यसलाई धोका दिएका छन् । तिनीहरू त्‍यसका शत्रुहरू भएका छन् । ‍3 गरिबी र कठोर दासत्वपछि यहूदा निर्वासनमा गएको छ । त्‍यो जाति-जातिहरूका बीचमा बस्छ, र त्‍यसले चैन पाउँदैन । त्‍यसलाई खेद्‌नेहरू सबैले त्‍यसको घोर निराशामा त्‍यसलाई पक्रे ।4 सियोनका सडकहरूले शोक गर्छन्, किनकि कोही पनि तोकिएका चाडहरूमा आउँदैन । त्‍यसका सबै मूल ढोका उजाड भएका छन् । त्‍यसका पूजाहारीहरू सुस्केरा हाल्दछन् । त्‍यसका कन्‍याहरू शोकित छन्, र त्‍यो आफै नै बिलकुल निराशामा छ ।5 त्‍यसका वैरीहरू त्‍यसको मालिक भएका छन् । त्‍यसका शत्रुहरूको उन्‍नति हुन्‍छ । त्‍यसका धेरै पापको कारण परमप्रभुले त्‍यसलाई कष्‍ट दिनुभएको छ । त्‍यसका स-साना बालबच्‍चाहरू त्‍यसको वैरीकहाँ निर्वासनमा जान्‍छन् ।6 सौन्‍दर्यले सियोनकी छोरीलाई छोडेको छ । त्‍यसका राजकुमारहरू खर्क पाउन नसक्‍ने मृगहरू जस्‍तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्‌नेको अगिअगि भाग्छन् ।7 त्‍यसले कष्‍ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्‍यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झनेछ । त्‍यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्‍यसलाई सहायता गरेन । वैरीहरूले त्‍यसलाई देखे, र त्‍यसको विनाशमा हाँसे ।8 यरूशलेमले घोर पाप गर्यो । त्‍यो अशुद्ध वस्तु जस्‍तै तिरस्कृत भएको छ । त्‍यसलाई आदर गर्ने सबैले अहिले त्‍यसलाई तिरस्कार गर्छन्, किनकि तिनीहरूले त्‍यसको नग्‍नता देखेका छन् । त्‍यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।9 त्‍यसको फरियाभित्र त्‍यो अशुद्ध भएको छ । त्‍यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्‍यसको पतन डरलाग्दो थियो । त्‍यसलाई सान्‍त्वना दिने कोही थिएन । त्‍यो चिच्‍च्‍यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।10 वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नु हुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्‍यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।11 त्‍यसका सबै मानिसहरूले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।12 यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन ? मलाई दिइएको शोक जस्‍तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्‌कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।13 उहाँले उच्‍चबाट मेरा हड्‌डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्‍तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।14 मेरा आज्ञा उल्लङ्‌घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँगै बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।15 मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसहरूलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ । मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपीठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ । परमप्रभुले यहूदाका कन्‍या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ ।16 यी नै कुराहरूको लागि म रुन्‍छु, मेरा आँखाबाट आँसुको धारा बहन्‍छ । किनकि मलाई सान्‍त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।17 सियोनले आफ्ना हात फैलाएको छ । त्‍यसलाई सान्‍त्वना दिने कोही छैन । याकूबको वरिपरि हुनेहरू त्‍यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ । यरूशलेम तिनीहरूका लागि अशुद्ध छ ।18 परमप्रभु धर्मी हुनुहुन्‍छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिसहरू हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्‍याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।19 मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पूजाहारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए ।20 हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्‍छ, किनकि म ज्‍यादै विद्रोही भएको छु । बाहिर तरवारले नष्‍ट पार्छ, घरभित्र केवल मृत्‍यु छ ।21 तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्‍त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू म जस्‍तै होऊन् ।22 तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्‌घनहरूको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मूर्च्‍छा परेको छ ।