2
परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रीसको बादलमुनि ढाक्‍नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रीसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।2 परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रीसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्‍दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्‍य र त्‍यसका शासकहरूलाई अपमानमा भुइँमा ढाल्नुभएको छ । ‍3 भयङ्‌कर रीसले उहाँले इस्राएलको हरेक सीङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।4 शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । वैरीले झैँ उहाँको दाहिने हात हान्‍नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्‍याउनुभएको छ ।5 परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्‍यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्‍यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।6 उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रीसमा राजा र पूजाहारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।7 परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्‍यागिदिनुभएको छ । उहाँले त्‍यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्‍तै तिनीहरूले परमप्रभुको मन्‍दिरमा विजयको ध्वनि लगाएका छन् ।8 परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।9 त्‍यसका मूल ढोकाहरू भुइँमा ढलेका छन् । उहाँले त्‍यसका मूल ढोकाका गजबारहरू नष्‍ट गर्नुभएको छ, र भाँच्‍नुभएको छ । त्‍यसका राजा र राजकुमारहरू जाति-जातिहरूका बीचमा छन्, र व्यवस्था अब छैन, अनि त्‍यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन् ।10 सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन् । तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्‌ग्रा लगाएका छन् । यरूशलेमका कन्‍याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन् ।11 तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरो हृदय छियाछिया भयो । बालबच्‍चाहरू र दूधे बालकहरू सहरका सडकहरूमा मूर्च्‍छा पर्छन् ।12 तिनीहरूले आफ्ना आमाहरूलाई भन्‍छन्, “अन्‍न र दाखमद्य कहाँ छन् ?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मूर्च्‍छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्‍छन् ।13 हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ ? हे सियोनकी छोरी, तँलाई सान्‍त्वना दिन म तँलाई केसँग तुलना गरूँ ? तेरो घाउ समुद्र जस्‍तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ ?14 तेरा अगमवक्ताहरूले तेरो लागि झूटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झूटा र गलत वचनहरू दिएका छन् ।15 यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्‍छन्, “के यो त्‍यही सहर हो जसलाई तिनीहरूले ‘परम सुन्‍दरी’ र ‘सारा पृथ्वीको आनन्‍द’ भन्‍थे ?16 तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् । तिनीहरूले खिसी गरेर रीसमा आफ्ना दाह्रा किट्छन्, र भन्‍छन्, “हामीले त्‍यसलाई निलेका छौँ । हामी यही दिनको प्रतीक्षामा थियौँ । यही हेर्न हामी बाँचेका छौँ ।17 परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्‍यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पूरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सीङ उठाउनुभएको छ ।18 तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे, हे सियोनकी छोरीका पर्खालहरू हो ! दिनरात नदीझैँ तेरा आँसु बगा । कति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे ।19 रातको हरेक पहरको सुरुमा उठेर चिच्‍या । परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्‍या । हरेक सडकको कुनामा भोकले मूर्च्‍छा पर्ने तेरा बालबच्‍चाहरूका प्राणको लागि तेरा हात उहाँतिर उठा ।20 हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्‍माएका बालबच्‍चाहरूलाई खाने ? के पूजाहारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने ?21 युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्‍छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।22 चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रीसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको छ ।