3
परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।2 उहाँले मलाई खेद्‌नुभयो, र उज्‍यालोमा भन्‍दा पनि अँध्‍यारोमा हिँड्न लगाउनुभयो । ‍3 निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।5 उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।6 उहाँले मलाई धेरै पहिले मर्नेहरू जस्‍तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।7 उहाँले मेरा चारैतिर पर्खाल लगाउनुभयो । त्‍यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,8 र मैले सहायताको लागि पुकारे र चिच्‍च्‍याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।9 काटिएको ढुङ्‌गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्‌गो बनाइदिनुभयो ।10 उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालु जस्‍तो र लुकेर बस्‍ने सिंह जस्‍तो हुनुहुन्‍छ ।11 उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसहारा तुल्याइदिनुभयो ।12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।13 उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।14 म मेरा सबै मानिसहरूका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।15 उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।16 उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।17 मेरो प्राण शान्‍तिबाट वञ्‍चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।18 त्‍यसैले म भन्‍छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।19 मेरो कष्‍ट र मेरो फिरन्‍तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।20 म निरन्‍तर यसलाई सम्झन्‍छु, र म मभित्रै हताश भएको छु ।21 तर म यो स्मरण गर्दछु र त्‍यसैले म आशा गर्दछुः22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्‍त्‍य हुँदैन ।23 ती हरेक बिहान नयाँ हुन्‍छन् । तपाईंको विश्‍वसनीयता महान् छ ।24 मेरो प्राणले भन्‍छ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्‍छ ।” त्‍यसैले म उहाँमा नै आशा गर्दछु ।25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्‍छ ।26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्‍छ ।27 आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्‍छ ।28 त्‍यसमाथि यो राखिँदा त्‍यो एक्लै चुप लागेर बसोस् ।29 त्‍यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ । ‍30 त्‍यसलाई हिर्काउनेलाई त्‍यसले आफ्नो गाला पनि देओस्, र त्‍यो निन्‍दाले भरियोस् । ‍31 किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्‍याग्‍नुहुनेछैन, ‍32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुनेछ । 33 किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्‍तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न । ‍34 पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने, ‍35 सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्‍यायलाई इन्कार गर्ने, ‍36 कुनै मानिसलाई न्‍यायबाट वञ्‍चित गर्ने जस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न । ‍37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पूरा भएको छ ? ‍38 के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र ? ‍39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ ? आफ्ना पापहरूको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ ?40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौः42 “हामीले आज्ञा उल्लङ्‌घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।43 तपाईंले आफैलाई रीसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।44 कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ ।45 तपाईंले जाति-जातिहरूका बीचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्‌गर बनाउनुभएको छ ।46 हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।47 आतङ्‌क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।48 मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्‍छ ।49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्‍छ,50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।51 मेरो सहरका सबै छोरीहरूको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।52 मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । बिना कारण तिनीहरूले मेरो शिकार गरे ।53 तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्‌गाले हाने,54 अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्‍त्‍य आइसकेको छ ।55 हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।56 “मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्‍द नगर्नुहोस्” भनी मैले भन्‍दा तपाईंले मेरो स्‍वर सुन्‍नुभयो ।57 मैले पुकार गरेको त्‍यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।58 हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्‍यान बचाइदिनुभयो ।59 हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।60 तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्‌यन्‍त्र तपाईंले देख्‍नुभएको छ ।61 हे परमप्रभु, तिनीहरूले गरेका निन्‍दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।62 मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।63 तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।64 हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।65 तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।66 हे परमप्रभु, रीसमा तपाईंले तिनीहरूलाई खेद्‌नुहुन्‍छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्‍छ ।